
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ जेठ २६ गते, सोमवार बाँडफाँट हुने भएको छ। कम्पनीका अनुसार आईपीओ बाँडफाँट कार्यक्रम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय, काठमाडौंमा दिउँसो ३ बजे हुने छ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म कुल २४,१५,३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यसमा करिब ११ गुणा बढी आवेदन परेको छ। अन्तिम दिनसम्म २१ लाख ८ हजारभन्दा बढी आवेदकले करिब २ करोड ५८ लाख कित्ता शेयरका लागि आवेदन दिएका थिए।
आईपीओ बाँडफाँट अनुसार २ लाख ४१ हजार ५३० जना योग्य आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँडफाँट हुन बाँकी सर्वसाधारणतर्फको शेयरमध्ये आयोजनाबाट प्रभावित स्थानीयलाई ८ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ५०० कित्ता, र कम्पनीका कर्मचारीहरूलाई ५८ हजार २०० कित्ता शेयर बाँडफाँट गरिसकिएको छ।
सान्भि इनर्जीले ८८ करोड रुपैयाँको जारी पूँजीको आधारमा, ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ (कुल पूँजीको ४३.०७%) निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो।
कम्पनीले इलाम जिल्लामा ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना सफलतापूर्वक निर्माण गरी २०७४ साल वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। त्यससँगै ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना पनि हाल अन्तिम चरणको निर्माणमा रहेको छ, जसको ८९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
आईपीओ बाँडफाँटपछि सान्भि इनर्जीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ। पूँजी संरचनामा संस्थापकको स्वामित्व ५६.९३%, आयोजना प्रभावित स्थानीयको १०%, र बाँकी ३३.०७% सर्वसाधारण तथा कर्मचारीको हुने छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij