Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक २९ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 168
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक २९ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  कात्तिक २९ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    नेपाल ल्यूब आयलको एक लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत एक कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

     

    यसैक्रममा नेपाल ल्यूब आयलले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

    सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड १ करोड ९९ लाख रुपैयाँ घाटामा

    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा उल्लेखीय रुपमा खराब कर्जा घटाएको छ ।

    कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ९९ लाख खुद घाटा व्यहोरेको छ ।

    हाल यस संस्थाको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ४६.७४ रुपैयाँ ऋणात्मक छ ।

    मुक्तिनाथ कृषि कम्पनीले पहिलो त्रैमाससम्म १ करोड ६५ लाखभन्दा बढी खुद नाफा

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
    मुक्तिनताले ३ महिनाको २१ करोड २२ लाख रुपैयाँको व्यापार गरेको छ । 

     

    गत वर्ष यसले ८ करोड ४६ लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापार बढ्दा कम्पनी नाफामा गएको हो ।  वित्तीय खर्च ३८ लाखबाट घटेर २९ लाख ८४ हजार रुपैयाँमा झरेको छ । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनथाको अदर इक्विटी २ करोड ६ लाख ऋणात्मक छ ।

    सूर्योदय वोमी लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ घाटामा

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय वोमी लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ । यसअवधिमा यो लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ नोक्सानमा देखिएको छ ।

     

    यसको खुद ब्याज आम्दानी पनि ३५.७१ प्रतिशतले घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

    यसको खराब कर्जा पनि ५.९२ प्रतिशतबाट बढेर ६.३० प्रतिशत भएको छ । यो लघुवित्तको प्रतिसेयर ४.५२ रुपैयाँ नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.८५ रुपैयाँ छ ।

    शेयर बजार : नेप्से सूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा ,१० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

    काठमाडौं ।  बिहीबार नेप्से सूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा आएको छ । १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहको सूचक बढेको छ । 
    यस दिन ३ सय २१ कम्पनीको २ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड २४ लाखसहित कारोबार रकममा जानकी फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र समृद्धि फाइनान्स छन् ।

    आइएमई लाइफ इन्सुरेन्सको खुद नाफा ११.२२ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई लाइफ इन्सुरेन्सले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ११.२२ प्रतिशतले धेरै हो ।कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ८.०७ प्रतिशत बढेर ३४ करोड ३० लाख रुपैयाँ पुगेको छ । 

     

     खुद बिमा शुल्क आर्जन ११.९६ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १६।०६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसको जीवन बिमा कोषको आकार १० अर्ब ८६ करोड रुपैयाँ भन्दा धेरैको छ ।

    नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा  ३०.०६ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३०.०६ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २४.४३ प्रतिशत बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । 

     

     खुद बिमा शुल्क आर्जन ९.१४ प्रतिशतले बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ भन्दा धेरैको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ४.०७ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.०७ विन्दुले बढेको  छ । यससँगै सूचक २७३८.९० अंकमा आएको छ । १ करोड ५५ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २२ हजार २ सय ७२ कित्ता सेयर कारोबार भएको छ । 

    २५ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

    आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा १९.५० प्रतिशतले बढ्यो

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९.५० प्रतिशतले धेरै हो ।

     

     

     कम्पनीको कुल आम्दानी ७.७४ प्रतिशतले बढेर ४५ करोड ९३ लाख पैयाँ पुगेको छ । यसको कमिसनबाट हुने आम्दानी भने २९.५१ प्रतिशतले बढेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १६.६० प्रतिशतले घटेको छ । यस अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ४१ लाख रुपैयाँबाट घटेर ८ करोड ६८ लाखमा झरेको छ ।

    सोनापुर मिनरल्स एण्ड आयलको खुद नाफा ६९.९१ प्रतिशतले घट्यो

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 
    असोज मसान्तसम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीको सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण नोक्सानी घट्न पुगेको हो।

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको खुद नाफा ३८७.८३ प्रतिशतले बढ्यो

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 
    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशत बढी हो।
    आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशत बढेर ६ करोड २१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०३.११ प्रतिशत बढेर ४७ लाख रुपैयाँ पुगेको छ।

    पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त २६ करोड ११ लाखभन्दा बढी नोक्सानमा

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ । यसअवधिमा यो लघुवित्त २६ करोड ११ लाख रुपैयाँ नोक्सानमा देखिएको छ ।
    यसको इम्पेयरमेन्ट चार्ज २ करोड ५१ लाखबाट बढेर २७ करोड पुगेको छ । यसअवधिमा नेरुडे मिर्मिरेले २६ करोड ५२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । यसको खराब कर्जा बढेर १६.१४ प्रतिशत पुगेपछि नोक्सान व्यहोरेको देखिन्छ ।

    यसअवधिमा कम्पनीको निक्षेप संकलन सामान्य बढेको छ भने र कर्जा लगानीमा गिरावट आएको छ ।

    धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलालको सङ्ख्या ९० पुग्यो

    काठमाडौँ ।  धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ।

     

    धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ ।

    यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् ।

    फिन इलेक्ट्रो टेक बिहीबारदेखि शुरु

    काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले  काठमाडौंको भृकुटीमण्डपमा आयोजनामा  ‘फिन इलेक्ट्रो टेक’को शुभारम्भ गरिएको छ ।इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको यो व्यावसायिक प्रवर्धन गर्ने उदेश्यको प्रदर्शनीलाई उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा ६४ वटा स्टल छन्।

     

    बिहीबारदेखि शुरुभएको मंसिर २ गतेसम्म चल्ने प्रदर्शनीमा ६४ वटा स्टल राखिएका छन् । उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमो उत्पादनको क्षेत्रको विस्तारमा निजी क्षेत्रलाई जोड दिन आग्रह गरे।उनले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ  भएको बताउँदै यसले  नेपालको कूल गार्हस्थ उत्पादनमा ह्रास भइरहेको अवस्थामा सुधार ल्याउन मदत गर्ने बताए ।

    महिला क्रिकेट खेलाडीलाई जनही रु दुई लाख ५० हजार पुरस्कार प्रदान

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । 

     

    टिममा समावेश अफिसियलहरूलाई भने जनही रु एक लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । संयुक्त अरब इमिरेट्स ९युएई०को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । 

     

    नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो ।

    बंगलादेश बिजुली निर्यातको शुभारम्भ नोभेम्बर १५का दिन गरिँदै

    काठमाडौँ । शुक्रबार  नोभेम्बर १५का दिनदेखि नेपालबाट बंगलादेश बिजुली निर्यात हुने भएको छ ।नेपालबाट ४० मेगावाट विद्युत निर्यातको तीन देशका ऊर्जामन्त्रीहरूले भर्चुअलरूपमा उद्घाटन संयुक्तरूपमा गर्ने भएका छन् । नोभेम्बर १५ राति १२ बजेसम्म नेपालबाट  बंगलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुने कार्यक्रम रहेको छ । 

     

    नेपाल, भारत र बंगलादेशबीच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएपनि नोभेम्बर १५मा निर्यात भएपछि यो वर्ष सन् २०२४ मा थप विद्युत् निर्यात हुनेछैन ।

    मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको फैसला विरुद्ध उच्च अदालत जाने

    काठमाडौँ । मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालाको विषयमा काठमाडौँ अदालतको फैसला विरुद्ध उच्च अदालत जाने भएको छ । अदालतले गत असोजमै गरेको फैसलाको पूर्णपाठ प्रकाशित भएसँगै मारवाडी सेवा समितिले यो फैसला विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने तयारी गरेको हो ।समितिका अध्यक्ष प्रमोद अग्रवालले आफ्नो कानुनी सल्लाहकारको टोलीले फैसलाको अध्ययन गरिरहेको जनाउँदै पुनरावेदनमा जाने बताए  ।अध्यक्ष अग्रवालले हिजो मात्रै फैसला आएकाले फैसलामा चित्तबुझ्दो नभएको विषयमा तोकिएको समयभित्र उच्च अदालतमा जाने बताए ।

     

    पशुपति गौशाला धर्मशाला सञ्चालनको सम्बन्धमा भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले खारेज गरेपछि यस विरुद्ध समिति जिल्ला अदालत गएको थियो ।जिल्ला अदालतले उक्त क्षेत्रमा कोषको स्वामित्व रहेको, समितिले सम्झौता बमोजिम काम नगरेको भन्दै कोषले गरेको खारेजी निर्णयलाई सदर गरिदिएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझे पूर्णपाठ प्राप्त भएको ३५ दिनभित्र पुनरावेदनमा जान सक्ने व्यवस्था छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको छ ।

    अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । 

     

    स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोड्नुभएको थियो । 

    बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गर्नुभएको छ । 

    ट्रम्पको यो भ्रमण उहाँलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उहाँले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो ।

    तस्करी नियन्त्रणमा सक्रिय सुरक्षाकर्मीहरूका लागि चुनौती बन्दै पटके सुन तस्करी फन्डा

    काठमाडौँ । तस्करी रोकथाममा सक्रिय सुरक्षाकर्मीहरूका लागि भारतबाट नेपालमा भइरहेको सुन तस्करी चुनौती बन्दै गइरहेको छ ।व्यापारीहरूका लागि अनुसार नेपाल र भारतको सुन बजारको अन्तर १५ हजारको हाराहारीमा रहेको छ ।भारतबाट नेपाल भएर सुन तस्करी गर्नेहरूले सुरक्षाकर्मीहरूलाई चुनौती थपिदिएका हुन् । तस्करहरूले पटकेलाई प्रयोग गरी सुन तस्करी गरिरहेका छन् ।केही टुक्रा सुन लिएर आउने र केही थोक लिएर जाने काममा प्रयोग हुने व्यक्तिलाई पटके भनिन्छ ।

     


    नेपाल प्रहरीले हालै केही पटकेहरूलाई पक्राउ गरेको पनि छ । तर उनीहरूबाट खास चुरो बिन्दुहरूमा बसेकाहरूको पता लाग्न नसकेपछि तस्करी नियन्त्रणमा सक्रिय प्रहरीहरूका लागि यो चुनौती बनिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    सुनको मूल्य तोलामा २२ सयले घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ

    काठमाडौँ  ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । 

     

    बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ ।

    नेपाल धितोपत्र बोर्ड अध्यक्षको अवरुद्ध छनौट प्रक्रिया फेरि शुरु, अन्तर्वार्तामा अनुपस्थित भएकाहरूलाई फेरि बोलाइयो

    काठमाडौैँ । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनौट प्रक्रिया अन्तर्गत सर्टलिस्टमा परेका पाँच मध्ये बाँकी तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।छनौट प्रक्रियामा परेका तीन जना शुरुको अन्तर्वार्तामा अनुपस्थित हुँदा अवरुद्ध प्रक्रियालाई फेरि अगाडि बढाइएको हो ।यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । अब  मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको छ ।

     

    सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई बोलाइएको हो ।एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो ।दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।

    उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन हेटौँडा सिमेन्टको उत्पादन बन्द

    बागमती ।  निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो । 

     

    उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताउनुभयो । “उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मतकार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौँ । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५ दिन लाग्न सक्छ”,  उहाँले भन्नुभयो ।

    कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ ।निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

     

    सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गर्नु भएको थियो । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    आज देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ ।हाल देशभर पश्चिमी  र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।

     

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।   

     

     

     

     

    प्रतिक्रिया दिनुहोस