Logo

Nov 15 2024 | २०८१, कात्तिक ३०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ३० शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक ३० शुक्रबार

  • 120
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ३० शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ३० शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई सेयर लगानीकर्ताले दिए २० बुँदे सुझाव

    काठमाडौं ।  नेपाल सरकार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताहरुले विभिन्न २० बुँदे माग प्रस्तुत गरेको छ । शुक्रबार आयोगको कार्यालय लालितपुरमा पुगेर आयोगका पदाधिकारीसँग पुँजीबजार सुधारबारे बृहत छलफल गर्दै सेयर लगानीकर्ताहरुले सेयर बजार सुधारका लागि २० बुँदे सुझाव दिएका हुन् । 

     

     

    यस्ता छन् सेयर लगानीकर्ताहरुले राखेका सुझाव 
     
    १ . अर्थ मन्त्रालयद्वारा गठन गरिएको मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन समितिले सिफारिश गरेका ५८ बुँदामध्ये बाँकी कार्यहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि, पुँजी बजारसँग सम्बन्धित समस्याहरु समाधान गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी तत्काल कदम चाल्नुपर्छ ।
     
    २. धितोपत्र दलाल व्यवसायको कार्यक्षेत्र विस्तार गरी देशभरका ७७ वटै जिल्लाबाट कारोबार संचालन गर्ने व्यवस्था मिलाइनु पर्छ ।
     
    ३. बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत तर्फ प्रदान गर्ने ऋणको हालको १५ करोडको सीमा अविलम्ब खारेज गर्नुपर्छ ।
     
    ४. भारित औसत मार्जिनलाई १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गर्नुपर्छ ।
    नेको इन्सुरेन्सले पहिलो त्रैमाससम्म ७ करोड ४ लाखभन्दा बढी खुद नाफा
     

    काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेको इन्सुरेन्सले ७ करोड ४ लाख ६८ हजार खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै २० प्रतिशत कम हो ।

     

    आम्दानी भन्दा खर्च बढेपछि कम्पनीको नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा कम्पनीको बिमाशुल्क संकलन ३।१२ प्रतिशत बढेको छ भने दाबी भुक्तानी १४.९९ प्रतिशते बढेको देखिन्छ । कम्पनीले यस अवधिमा २८ करोड ५५ लाख बिमाशुल्क संकलन गरेको छ भने २३ करोड ३३ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च  ७.४५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख पुगेको छ ।

     

    सोल्टी होटलले पहिलो त्रैमाससम्म १२ करोड ११ लाखभन्दा बढी खुद नाफा

    काठमाडौं  । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आवको असोजमसान्तसम्म १२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १८.३४ प्रतिशतले बढेको हो।

     


    अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा ३९ करोड ९६ लाख आम्दानी गरेकोमा चालु आवको असोजमसान्तसम्म ५१ करोड ४३ लाख आम्दानी गरेको छ । होटलको खर्च समेत २९ प्रतिशतले बढेको छ ।

    नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ७० प्रतिशत घट्यो

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७० प्रतिशत घटेको छ ।

     

    गत आवमा कम्पनीले रू। २ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवमा रू. ७९ लाख ९१ हजारमा सीमित भएको छ । चालू आवमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा घटेपछि नाफा प्रभावित भएको हो । सञ्चालन नाफा गत आवमा रू. ३ करोड ८१ लाख रहेकोमा चालू आवमा रू.१ करोड १४ लाखमा सीमित भएको छ ।

    जीवन विकास लघुवित्तको खुद नाफा साढे १७ प्रतिशत घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १७.५३ प्रतिशत कम हो ।
    लघुवित्तको खुद ब्याज आम्दानी १५.६१ प्रतिशतले बढेर ४४ करोड ३९ लाख पुगेको छ ।चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ रहेको जीवनको जगेडा कोषमा १ अर्ब ३५ करोड जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा ६८ करोड ५१ लाख देखिएको छ ।

    सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ५४.३० प्रतिशतले घट्यो

    काठमाडौं  । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५४.३० प्रतिशतले थोरै हो ।

     

    यसको लगानी तथा कर्जाबाट हुने आम्दानी २१.३९ प्रतिशतले घटेर १४ करोड ८९ लाख रुपैयाँमा झरेको छ ।कम्पनीको कमिसनबाट हुने आम्दानी पनि १४.०५ प्रतिशततले घटेको छ । 

    यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन भने १.३९ प्रतिशतले बढेर ३४ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

    हिमालयन रिइन्सुरेन्सको  खुद नाफा २९.२२ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्सुरेन्स लिमिटेडले २२ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षकोस सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले धेरै हो ।
    यस कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६९.३६ प्रतिशत बढेर ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार आएको हो ।

     

    खुद बिमा शुल्क संकलन १०.९५ प्रतिशतले बढेर ९२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार ७ अर्ब १९ करोड रुपैयाँ भन्दा धेरैको छ ।

    एलआइसी नेपालले मंसिर १२ गतेदेखि ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले मंसिर १२ गतेदेखि ८८।४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

    उक्त हकप्रद सेयरको लागि यसले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक ८ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

    समता घरेलुको एफपीओ बाँडफाँट

    काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ । 

     

    लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

    एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ४२.०७ प्रतिशतले बढ्यो

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४२.०७ प्रतिशतले धेरै हो ।यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १२.२३ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने २.४२ प्रतिशतले घटेर ८५ करोडमा झरेको छ । यसको जीवन बिमा कोषमा ४४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

    नेपाल टेलिकमको खुद नाफा १४.२० प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४।२० प्रतिशत कम हो। कुल आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

     

    समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ।

    नेपाल रिपब्लिक मिडियाको साधारण सभा मंसिर १० गते

    काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, काठमाडौं ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

     

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

    शिखर इन्सुरेन्सको खुद नाफा २.५१ प्रतिशतले  बढ्यो

    काठमाडौं । शिखर इन्सुरेन्सको  पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा २.५१ प्रतिशतले बढेर ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
    खुद बिमा शुल्क आर्जन पनि सामान्य अर्थात् १५७ प्रतिशतले बढेर २८ करोड २२ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
    असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि सामान्य अर्थात्  ४२ पैसाले बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा छ ।

    शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

    सुनको मूल्य तोलामा एक  सयले बढ्यो , प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँ

    काठमाडौँ  ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ । 
    शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १९ सय १० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६८.८७ र चाँदी प्रतिऔंस ३०.५१ डलरमा कारोबार भइरहेको छ ।

    प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

    सुदूरपश्चिम ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । 

     

    आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताउनुभयो । परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो, “नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।”

    कोप–२९ सम्मेलन : नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

    बाकु ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ । सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ ।

     

    वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता, छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो ।

    सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँ बिहीबार नै स्वदेश प्रस्थान गर्नुभएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहनुुभएको छ ।

    डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण

    काठमाडौँ । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । 
    शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका तर्फबाट उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए ।

    ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट

    काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र जर्मनबीच ऊर्जा  सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

     

    भेटमा ऊर्जामन्त्री खड्काले जर्मनीले नेपालको आर्थिक विकासका लागि गरेको योगदानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चिलिमे–त्रिशूली प्रसारण लाइन, लेखनाथ–दमौली प्रसारण लाइन, सौर्य ऊर्जा प्रवर्द्धनजस्ता परियोजनामा जर्मन सरकारले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

    इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष दाहाल

    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन ।”

     

    नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गर्नुभयो । ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उहाँको भनाइ थियो ।

    विशेष अदालतद्वारा सिराहा कर्जन्हाका पूर्वमेयर पासवानसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौँ । विशेष अदालतले  सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगापासवानसहित ५ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्व मेयर पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।उनीहरुले नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत ०८० मा उनीहरूविरुद्ध आर्थिक हानि–नोक्सानी पु¥याएको आरोपमा मुद्दा दायर गरेको थियो । सो मुद्दामाथि मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले फैसला सुनाएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी सार्वजनिक गरेका छन् ।

    विभिन्न उपकरणको मर्मतसम्भार गर्ने काम नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने

    मकवानपुर ।  हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । 

     

    बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी गराएको आज राससको कुराकानीमा बताउनुभयो ।

    वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

     

    काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो ।

    जीवन बीमा कम्पनीहरूको पहिलो त्रैमासिकमा करिब २ अर्ब मुनाफा, गत आवको तुलनामा साढे अठार प्रतिशतले बढी

    काठमाडौँ । जीवन बीमा कम्पनीहरूले  चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना साउन, भदौ र असोजमा करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले पहिलो त्रैमासिकमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।गत आवको सोही अवधिमा जीवन बीमाको खुद नाफा १ अर्ब ६२ करोड १३ लाख रुपैयाँ थियो ।गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा चालु आवमा १८.६४ प्रतिशत मुनाफा बढेको हो । 
    यो अवधिमा सबैभन्दा धेरै नाफा हिमालय लाइफले आर्जन गरेको छ । हिमालयन लाइफले २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा नेपाल लाइफले २० करोड ५४ लाख र रिलायबल लाइफले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    दार्चुला जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु , घाइते नेपाल सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो

    धनगढी । नेपाली सेनाको हेलिकप्टर मार्फत् दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो । घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

     

    नेपाली सेनाको हेलिकोप्टर शुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो । तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएपछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो । त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पु¥याइएयो ।हेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्यायो ।

    दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

    महोत्तरी ।  महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका  रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। 

     

    कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलानी यो पर्व समापनको तयारीमा जुटेका छन् । यो पर्व समापन गरिँदा मिथिलानीले सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन छ । पर्व समापनमा अवसरमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् । यसैगरी  दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिन्छन् ।

    मंसिरमा अधिकांश वाणिज्य बैंकहरूले ब्याजर घटाउँदा राष्ट्रि वाणिज्य बैंकले ब्याज दर बढायो

    काठमाडौँ । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको  ब्याजदर सूचीमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत कायम गरिएको छ । कात्तिकको तुलनामा व्यक्तिगततर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो ।  संस्थागततर्फ ४.९७ प्रतिशत ब्याजदर थियो ।

    छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

    काठमाडौँ ।छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । 

     

     खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ ।

    सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’  नेपाल राजपत्रमा गत वैशाख २३ गते प्रकाशन गरेको थियो । ऐन सार्वजनिक भएको ९१औँ दिनदेखि लागू हुने व्यवस्थाअनुरुप गत साउन १९ गतेदेखि लागू भएको सो ऐनको दफा ५ मा १५ सदस्यीय समितिको व्यवस्था छ ।

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ ।हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ ।

     


    विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । 

     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस