Logo

May 30 2025 | २०८२, जेठ १६गते

May 30 2025 | २०८२, जेठ १६गते

images

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गर्नुभएको छ ।  नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव समारोहमा उहाँले वित्तीय अनुशासन कायम गर्दै प्रतिस्पर्धात्मक बैंकिङ कारोबारमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

    गभर्नर अधिकारीले नेपाल बैंकले आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधिमैत्री बैंकिङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सृजनामा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल बैंकिङमा देखिएका चुनौतीलाई सामना गर्दै विश्वसनीय र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने दायित्वबाट कहिल्यै बिमुख नहुन आग्रह गर्नुभयो । “विगतमा कमजोर व्यवस्थापनका कारण समस्यामा परेका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई जोगाएर उल्लेखनीय प्रगति हासिल गर्ने बैंकको रूपमा स्थापित भएको छ । यो बैंक धेरै दुःख गरेर ‘रिकभर’ भएको बैंक हो । राज्य र नियामकले ठूलो लगानी र जोखिम मोलेर बाह्य ऋणसमेत लिएर बैंकको रिकभर गरेको हो । त्यसैले जुन किसिमका नीति नियमन, निर्देशिका बने त्यसको प्रभावकारी कार्यान्यवनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरे । फेरि ‘मिस म्यानेजमेन्ट’का कुरा सुनिन थालेका छन् । त्यस्तो अवस्था आउन नदिन म बोर्ड र उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउन चाहन्छु”, गभर्नर अधिकारीले भन्नुभयो ।

    नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंक लिमिटेडले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पु्र्याउनुका साथै बैंकिङमार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न बैंकको अग्रणी भूमिका रहेको उहाँको भनाइ थियो । 

    बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले आगामी दिनमा सेवा प्रवाहलाई अझ बढी प्रतिस्पर्धी, प्रविधिमैत्री, सुरक्षित र विश्वसनीय बनाउँदै बैंकको संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित भई सहकारिता र साझेदारिताको अनुपम उदाहरण बनेको बताउनुभयो । उहाँले नेपाल बैंकले राष्ट्रिय अर्थतन्त्रका सम्पूर्ण पक्षलाई मुलुकको विकास र समृद्धितर्फ दिशानिर्देश गर्न आवश्यक वित्तीय साधन उपलब्ध गराउने र नेपाली मुद्रा चलनचल्तीमा ल्याउने आधार तयार पार्न भूमिका खेलेको उल्लेख गर्नुभयो । 
    त्यस अवसरमा बैंकमा २५ वर्ष र २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक दिनाका साथै उत्कृष्ट १० शाखालाई सम्मान गरिएको थियो ।

    नेपाल बैंक लिमिटेड, नेपालकै पहिलो वाणिज्य बैंकका रूपमा विसं १९९४ कात्तिक ३० गते स्थापना भई मुलुकमा संस्थागत बैंकिङ सुुरुआत गर्ने अग्रणी संस्था हो । सार्वजनिक निजी साझेदारी ९पिपिपी० मोडलमा रु आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले रु १४ दशमलव ६९ अर्ब छ । बैंकको जगेडा कोषमा रु २२ दशमलव ६९ अर्ब रहेको छभने रु ३७ अर्ब बढी नेटवर्थ रहेको त्यस अवसरमा जानकारी दिइयो । 

    हाल बैंकले दुई सय २९ शाखासँगै दुई सय पाँच वटा एटिएम, ६० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो उपस्थिति जनाएको छ । विसं २०८० असार मसान्तसम्म दुई सय ८३ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ९७ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । तीन हजारभन्दा बढी कर्मचारी रहेको बैंकको २५ लाख हाराहारी ग्राहक रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij