Logo

Nov 17 2024 | २०८१, मंसिर २गते

images

बढी हवाई भाडा लिने कम्पनीहरूलाई कारबाही गरिने चेतावनी


नया सडक

२०८१, मंसिर २ आइतबार

  • 222
    Shares

  • बढी हवाई भाडा लिने कम्पनीहरूलाई कारबाही गरिने चेतावनी

    काठमाडौँ  । सरकारले मनपरी भाडा उठाउने हवाई सेवा कम्पनीलाई कारबाही गर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी भाडा लिन नहुने भन्दै मन्त्री पाण्डेले मन्त्रालयबाट कम्पनीहरुलाई कारबाही गरिने बताए ।गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको यात्रुहरूबाट गुनासो बढेपछि मन्त्रीको यस्तो चेतावनी सार्वजनिक भएको छ ।

    हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउँदै मन्त्री पाण्डेले  तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए । उनका अनुसार हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकिएको छ ।

    अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको छ । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिइएको छ ।मन्त्रालयले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्ने योजनावद्ध रुपमा काम अघि बढाइरहेको छ । भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म पुर्याउने योजनामा मन्त्रालय रहेको छ । पोखरामा पनि उडानका गतिविधि बढाउने गरी कार्य भइरहेको छ । निजी क्षेत्रहरुसँग पनि उडान विस्तारका लागि आवश्यक छलफल अघि बढाइएको छ।

    त्रिभुवन  विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु संघीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम भइरहेको छ । तीन वटै एयरपोर्टमा आगामी दिनमा गतिविधि बढ्नेछ । तीन एयरपोर्टको दबाब, आवश्यकताले निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय स्तरकै निकै ठूलो एयरपोर्ट बन्ने परिकल्पना छ । त्यो बनाउने दिशामा पनि सकारात्मक प्रेरणा मिल्नेछ ।भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस