काठमाडौं ।एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।
अन्य कलर उधोग भन्दा पृथक ढँगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक शेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।
साधारणसभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक शेयरधनीका तर्फबाट संचालकमा निर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ ।
एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ । स्वदेशी युवाहरु सँगठीत भई सहकारी मोडलमा एभरेष्ट कलर सुरु गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ ।