काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मंसिर २ गते आइतबार सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलिपेप्लस नेटवर्क मार्फत भुक्तानी गर्न सकिनेछ ।
चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
एनसीएचएलले अलिप्लेप्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रुपमा आबद्ध भई दुई नेटवर्क बीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहल अनुरूप सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।