Logo

Nov 17 2024 | २०८१, मंसिर २गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, मंसिर २ आइतबार

  • 93
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  मंसिर २ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मंसिर २ गते आइतबार सम्झौता भएको छ ।

     

    सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलिपेप्लस नेटवर्क मार्फत भुक्तानी गर्न सकिनेछ ।

    चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    राष्ट्र बैंकको १ वर्षको आम्दानी ७३ अर्ब ७६ करोड, सरकारलाई ३७ अर्ब २२ करोड दिने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड खुद आम्दानी गरेको जनाएको छ ।  जुन अघिल्लो आर्थि वर्षको तुलनामा २१।९६ प्रतिशतले बढी हो । १ वर्षको अवधिमा झण्डै ७४ अर्ब आम्दानी गरेको राष्ट्र बैंकले सरकारलाई ३७ अर्ब २२ करोड उपलब्ध गराउने निर्णय गरेकोे छ । आइतबार गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई गत आर्थिक वर्षको प्रतिवेदन बुझाएका हुन् । 

    कात्तिक २९ गते बैंकको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्याएर बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको गभर्नर अधिकारीले जानकारी गराए । राष्ट्र बैंकले  विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ-हानि समायोजन अघि गत आर्थिक वर्षमा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद आम्दानी गरेको जनाएको छ । साथै  सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले वृद्वि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा, ११ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा आएको छ । आज ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ९ वटा समूहका सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरैले वृद्धि भएको छ ।

    यस दिन ३ सय २६ कम्पनीको २ करोड ४४ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४५ करोडभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र जानकारी फाइनान्स परेका छन् । 

    रसुवागढी हाइड्रोपावर पहिलो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ घाटामा

    काठमाडौं । रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यो त्रैमासमा कम्पनी १ करोड ४ लाख ४९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

     


    असोजसम्ममा रसुवागढी ८५ लाख ४० हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ ।हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३९ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ २७ रुपैयाँ छ ।

    नेप्सेमा सूचीकृत होटल कम्पनीहरूको पहिलो तीन महिनामा व्यापार बढेपनि नाफा खुम्चियो

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा होटलहरुको व्यापार र नाफाबीचको सम्बन्ध उल्टो देखिएको छ ।सामान्यरूपमा व्यापार बढ्दा नाफा बढ्ने हुने हुँदा पहिलो त्रैमासिकमा सूचीकृत होटलहरू व्यापार  ८.०१ प्रतिशतले बढे पनि खुद नाफा १२.८२ प्रतिशतले खुम्चिएको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत होटलको पहिलो त्रैमासिकमा खुद नाफा १२ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।नेप्सेमा सूचीकृत ६ वटा होटल कम्पनीले पोहोर पहिलो तीन महिनामा १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यो वर्ष ३ वटा कम्पनी खुद नाफा बढाउन सफल भएका हुन् । बाँकी तीन मध्ये २ वटा घाटामा गएका छन्। सिटी होटल र कालिन्चोक दर्शन प्रालि घाटामा गएका हुन्।

    एभरेष्ट कलरले आइपिओ निस्कासन गर्ने

    काठमाडौं ।एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।

     

    अन्य कलर उधोग भन्दा पृथक ढँगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक शेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।

    आईएमई लिमिटेडको साधारण सभा मंसिर २४ गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं । आईएमई लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सर्वसाधारणमा आईपीओ जारी गर्ने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    नबिल बैंकको साधारण सभा मंसिर २७ गते ,  १० प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं ।  नबिल बैंकले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ ।नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । 

     
    माई खोला हाइड्रोपावर लिमिटेडको साधारण सभा मंसिर १४ गते

    काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।  आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ ।

    पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।

     

    चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात्् रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।

     

    सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।

    सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६० हजार रुपैयाँ

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६२.८६ र चाँदी प्रतिऔंस ३०.२५ डलरमा कारोबार भइरहेको छ ।

    सहकारी ठगी मुद्दामा काठमाडौंबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं । सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।

     

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार लामिछानेसहित २२ मध्ये रविका साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।

    २४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

     

    केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको हो । विद्युतीय चुल्हो वितरण कार्यक्रमको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गर्नुभयो ।

    पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते

    दमौली ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् । 

     

    गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

    बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ ।

    पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचार   भइरहेको क्रममा  आज दिउँसो दुई बजे उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी सार्वजनिक गरेका छन् ।

     

    अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

    भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा

    नयाँदिल्ली । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

     

    प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षा मन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पु¥याउने भारतीय टोलीको उच्च प्रशंसा गर्नुभएको छ । 

    हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविस्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ ।

    वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

    वीरगञ्ज  (पर्सा)।  वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उहाँले राजस्व सङ्कलन पनि घटेको उल्लेख गर्नुभयो ।

     

    चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिनुभयो ।

    चुरे संरक्षणका नाममा अर्बौँ रकम र दश वर्षे समय खर्चिए पनि फुटेन पानीको मुहान

    काठमाडौँ । चुरे संरक्षणका लागि सरकारले अर्बौँ खर्चेको भएपनि त्यस क्षेत्रका बासिन्दाहरूलाई पानीको चरम अभावबाट उत्पन्न समस्याको सामना गर्नु परिरहेको छ ।पानीको चरम अभाव सामना गरिरहेकाहरूले काठमाडौँको माइतीघर मण्डलमा धर्ना बसेर सरकारलाई घचघचाउने काम पनि गरेका हुन् ।चुरे क्षेत्र संरक्षणका लागि सरकारको लगानी बालुवामा पानी खन्याएजस्तो भएको सरोकारवालाहरूले बताउने गरेका छन् ।सरकारले नदी, खोला लगायत चुरे संरक्षणका लागि विभिन्न योजना ल्याएको छ । तिनैमध्ये ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ पनि एक हो । 

     

    चुरे संरक्षणलाई अभियानका रूपमा सञ्चालन गर्न आर्थिक वर्ष २०६६÷६७ मा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ ल्याइयो । त्यसको करिब चार वर्षपछि२०७१ असार २ गते ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ गठन गरियो । यही योजनालाई २० वर्षीय गुरुयोजना बनाइएको छ ।समितिका अध्यक्ष डा. किरण पौडेलले जानकारी सार्वजनिक गरे अनुसार २० वर्षीय गुरु योजनामा पनि पाँच–पाँच वर्षीय कार्य विभाजन गरिएको छ । पहिलो पाँच वर्षमा ६४ वटा नदी प्रणालीको एकीकृत व्यवस्थापन गरिने छ । दोस्रो पञ्चवर्षीयमा  चुरेले समेटेका ३७ जिल्लाका जिल्ला स्तरीय योजना समावेश गरिएकोे छ ।

    रेमिट्यान्स सेवा दिने कम्पनीहरूमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सबै भन्दा बढी कर बुझाउने कम्पनीको रूपमा सम्मानित

    काठमाडौँ । सरकारले सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्सलाई उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷८० को आय विवरण अनुसार रेमिट्यान्स  तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।आन्तरिक राजस्व विभागले  कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

     

    आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा सञ्चालन गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा पनि सञ्चालनमा ल्याएको छ । साथै सिटी पे बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्याुप्रसाद पौडेलले सम्मानबाट सम्मनित गरेका थिए ।

    पर्सा प्रहरीले साढे सतासी लाख बराबरको औषधि लोड रहेको ट्रक थप अनुसन्धानका लागि पथलैया बुझायो

    काठमाडौँ । पर्सा प्रहरीले साढे सतासीलाखको औषधि लोड गरिएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा थप अनुसन्धानका लागि बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडान ८ घन्टाघर चोकबाट ना ३ ख ६९७१ नम्बरको मालवाहक ट्रकमा बिल बीजक भन्दा बढी औषधि लोड रहेको पाएपछि नियन्त्रणमा लिएको जनाइएको हो ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस