काठमाडौँ । चोरी तस्करी नियन्त्रण र राजस्व छली रोक्न राजस्व अनुसन्धान विभाग एग्रेसिभ्ली लागेको छ । विभाग नेपालीहरूको महत्वपूर्ण चाडपर्व सकिए लगत्तै चोरी तस्करी नियन्त्रण र राजस्व छली रोक्न आक्रमक देखिएको हो ।विभागले तिहार सकिएलगत्तै चोरी तस्करी र राजस्व छलीको नश्ल खोज्न देशभर सक्रियता बढाएको छ । विभाग स्रोतका अनुसार राजस्व छली र चोरी तस्करी नियन्त्रणका लागि देशभर सूक्ष्मढंगले अध्ययन गरिँदै छ ।
विभागद्वारा ठाउँ–ठाउँमा छापा
राजस्व अनुसन्धान विभागले चोरी तस्करी र राजस्व छली गरेको आशंकामा ठाउँ –ठाउँमा छापा मारेको छ । न्यूरोड क्षेत्रका कपडा पसल, सेवामूलक व्यवसाय र ठुला साना ट्रान्सपोर्ट कम्पनीहरूलगायतमा छापा मारेको छ । विभागले केही कारोबार स्थलहरूमा सिल गरेको छ भने केहीका कागजपत्र नियन्त्रणमा लिएको छ । केही व्यवसायिक फर्मका कागजपत्र मगाएको छ । विभाग स्रोतका अनुसार चोरी तस्करी नियन्त्रण र राजस्व छलीको नश्ल खोज्ने क्रममा व्यवसायिक फर्महरूमा छापा हानिएको र कागजपत्र लिइएको छ ।
नयाँ सडक डटकमलाई छापा हानिएका व्यवसायिक फर्महरूको नाम प्राप्त भएपनि व्यवसायिक फर्महरूको गोपनीयतालाई सम्मान गर्दै खुलाइएको छैन् । राजस्व अनुसन्धान विभागले छापा हान्ने क्रममा ६ महिना अगाडि मात्र छापा हानेर कारबाही गरिएका र विभागमा विगतका मुद्दा नटुंगिएका फर्महरूमा समेत बिना अध्ययन छापा मारेको छ । यसले व्यवसायी निराश बनेका छन् ।
राजस्व छलिएको आशंकामा भन्सार जाँचपास भएर आएका मालवाहक गाडीमाथि विभागको नजर
२०८१ भदौ १ गतेबाट राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भदौ ३ गते नयाँ सडकसँग कुरा गर्दै भन्सार जाँचपास भएर आएका मालवाहक गाडीहरूमा राजस्व अनुसन्धान विभागको ध्यान नजाने बताएका थिए । तर पुनः विभागले भन्सार जाँच पास भएर आएका मालवाहक गाडीहरूले समेत मालवस्तुको न्यून मूल्यांकन , मालवस्तुको परिमाणमा गडबडी गरेको निष्कर्ष निकाल्दै भन्सार जाँचपास भएर आएका मालवाहक गाडीहरूको चेकजाँच तीव्र बनायो ।
विभागले भन्सार जाँचपास भएर आएका मालवाहक गाडीहरूबाट राम्रो राजस्व– धरौटी उठाएको छ । अहिले पनि राजस्व अनुसन्धान विभाग र अन्तर्गतका कार्यालयहरूमा भन्सार चेकजाँच भएर आएका मालवाहक सवारी साधनहरूको चेकजाँच गर्न भ्याइनभ्याइ छ ।
सुधारोन्मुख पथमा विभाग
राजस्व अनुसन्धान विभाग सुधारोन्मुख देखिएको छ । विभागको कार्तिक मसान्तसम्मको प्रगति हेर्दा गैरकर तर्फ मात्र १० करोड ९५ लाख धरौटी राजस्व खातामा जम्मा भएको छ । यस्तै विभाग र विभाग अन्तर्गतका कार्यालयहरूबाट भीसीटीएस तर्फ १ करोड २४ लाख ३३ हजार राजस्व उठाएको छ । विभागले कातिक मसान्तसम्ममा राजस्व चुहावट तर्फ ७ मुद्दा दायर गरेको छ । जसको बिगो १० करोड ७५ लाख र सोही बराबरको जरिवाना माग दाबी गरिएको छ । यस्तै विभागले कार्तिक मसान्तसम्ममा विदेशी मुद्रा अपचलन तर्फ १६ वटा मुद्दा दायर गरेको छ ।