काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ११ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ६ दशमलव ५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू.७१३ दशमलव ६२ कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
सुनको मूल्य घटेपछि माग बढ्यो, बजारमा किन्नेको भीड
काठमाडौँ । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउनुहुन्छ । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्”, उहाँले भन्नुभयो । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उहाँको भनाइ छ ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छ : अर्थमन्त्री पौडेल
काठमाडौँ ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताउनुभयो ।
“सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “एमाले नेतृत्वको सरकारले गरेको हो ।
शेयर बजार : नेप्से परिसूचकमा ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा, ७ अर्ब ४४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा आएको छ । आज ७ अर्ब ४४ करोडको सेयर कारोबार भएको छ । यस दिन ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।
विशाल बजार कम्पनीको ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापतको शेयर सूचीकृत भएको छ ।
नेप्सेले यस दिन विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचीकृत गरेको हो ।
सनराइज फस्र्ट म्युचुअल फण्डले सूचीकृत शेयरमा लगानी घटायो
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फष्र्ट म्युचुअल फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । फण्डले असोज मसान्तमा सूचीकृत शेयरमा रू. ८३ करोड ४ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा घटाएर रू.८० करोड ६१ लाखमा झारेको छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)असोजको तुलनामा कात्तिक महीनामा केही घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ८६ पैसा रहेकोमा कात्तिक मसान्तमा ११ रुपैयाँ ८४ पैसामा कायम भएको छ । न्याभसँगै फण्डको नाफा पनि असोज महीनाको तुलनामा कात्तिक महीनामा केही घटेको छ ।
क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन सरकारसँग माग
काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरेको छ ।
महासङ्घले यहाँ आज ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमका सहभागीले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दुरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्डलाई अति लचकता अपनाइ पुनःविचार गर्न भने तापनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यवहारिक हुनेगरी संशोधन गर्न माग गरेको छ ।
समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचिकृत भएको हो ।
एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।
गार्डियन माइक्रो लाइफले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरलेले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको हो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्न पाउनेछन् । नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० प्रतिशत आईपीओ विक्री गर्ने मिति तय गरेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा पुस ४ गते
काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कार्की ब्यांक्वेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।यो पटक सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँमा झरेको छ ।
मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १८ सय २० रुपैयाँमा झरेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६२७.१९ र चाँदी प्रतिऔंस ३०.३५ डलरमा कारोबार भइरहेको छ ।
पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी
झापा ।पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५ करोडको अलैँची, रु एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, रु ३३ करोड ९६ लाखको अम्लिसो रु २० करोड ५५ लाखको अदुवा, रु छ करोड ४८ लाखको बन्दाकोभी, रु एक करोड ५५ लाखको मसुरो दाल, रु ५१ लाख १९ हजारको जडीबुटी र रु ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।
चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ ।
सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा (१), (२) (३), (४), (५) र (७) तथा दफा ६७ उपदफा ९१०, ९२० बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।
पैंतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपीलगायत आवश्यक कागजातसहित चन्द्रपुर नगरपालिका सहकारी शाखामा सम्पर्क गर्न सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिनुभएको छ ।
स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय बासिन्दाका समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताउनुभएको छ । बाँकेका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उहाँले स्थानीय बस्तीको जग्गा विवाद छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो । औद्योगिक क्षेत्र सञ्चालनका छुट्याइएको तीन सय ३८ बिघा क्षेत्रफल जग्गामध्ये ५५ दशमलव छ बिघा जग्गामा बस्ती रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा २०२८ सालदेखि बस्ती रहेकाले बस्तीबाहेकको जग्गामा चाँडै औद्योगिक क्षेत्रको काम अगाडि बढाउन प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसमक्ष माग गरेको छ ।
सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भन्नुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १८ लाख श्रमिक सूचीकृत
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरिएको ६ वर्षमा करिब १८ लाख श्रमिक सूचीकृत भएका छन् ।सामाजिक सुरक्षा कोष अनुसार १७ लाख ९७ हजार ६४० श्रमिक सूचीकृत भएका हुन्। तीमध्ये १२ लाख ५३ हजार ५१५ श्रमिक वैदेशिक रोजगारमा रहेकाहरु हुन्।औपचारिक क्षेत्रका ५ लाख ४३ हजार ४९१, अनौपचारिक क्षेत्रका ३०७ र स्वरोजगार क्षेत्रका २२७ जना आबद्ध भएको कोषले जनाएको छ।सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो। योजना भने २०७६ साउनदेखि कार्यान्वयनमा ल्याइएको थियो। यो अवधिमा १९ हजार ६७९ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ।
कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी
कर्णाली । कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त छलफलमा आइडिया नेपालका प्रादेशिक कार्यक्रम अधिकृत खगेन्द्र चाम्लिङ राईले प्रतिवेदन प्रस्तुत गर्दै यो अनुसन्धानमा आवधिक योजना, आर्थिक सर्वेक्षण, मुख्य व्यक्तिहरूसँगको साक्षात्कार, सरोकार भएकाहरूको विश्लेषण र अवलोकनबाट प्रदेशको आर्थिक सम्भावनाको विश्लेषण गरिएको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो । बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेकोले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो ।