काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज मंसिर १२ गते बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १ खर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । अधिक तरलता व्यवस्थापन गर्न यसअघि पनि केन्द्रीय बैंकले पटकपटक बजारबाट पैसा खिच्दै आएको छ । कर्जा प्रवाह हुन नसकेपछि अहिले बैंकहरुमा पैसा थुप्रिएको अवस्था छ ।
यसको साँवा र ब्याज भुक्तानी मिति पुस ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।