Logo

Nov 27 2024 | २०८१, मंसिर १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, मंसिर १२ बुधबार

  • 78
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १२ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सिद्धार्थ इक्वीटी फण्डले कात्तिक मसान्तमा कमायो रू.२६ करोड ६७ लाख

    काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तमा रू।२६ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा २ दशमलव ७१ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू २७ करोड ४२ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको आम्दानी घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । 

     

    असोज मसान्तमा फण्डको कुल खर्च रू ८४ लाख ९४ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू १ करोड ११ लाख भन्दा बढी पुगेको छ । त्यस्तै फण्डको कुलआम्दानी भने असोज मसान्तमा रू २८ करोड २७ लाख रहेकोमा कात्तिक मसान्तमा घटेर रू२७ करोड ७८ लाखमा सिमित भएको छ ।

    सोल्टी होटलको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५७० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ५१८.१८ रुपैयाँ कायम भएको छ ।

    रोकिएको आइपीओ निष्काशन चाँडै शुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

    काठमाडौँ ।नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।

     

    बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।

    उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गरे ।

    शेयर बजार : नेप्से परिसूचकमा ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा, ९ अर्ब ३१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा आएको छ । ९आज  अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी ९.२७ प्रतिशतले बढेको छ । ९ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ३१६ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ ।

    एनआईसी एशिया सेलेक्ट–३० ले कात्तिक महीनामा सूचीकृत शेयरमा लगानी बढायो

    काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोजको तुलनामा कात्तिक महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू.८९ करोड ८ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा बढाएर रू.९१ करोड ३० लाख पु¥याएको हो ।
    त्यस्तै यस फण्डले कात्तिक मसान्तसम्ममा रू। १७ करोड ३ लाख  नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ३ दशमलव २८ प्रतिशत कमि हो ।

    विशाल ग्रुपको साधारण सभा पुस ५ गते

    काठमाडौं । विशाल ग्रुप लिमिटेडको २४औं वार्षिक साधारण सभा पुस ५ गते हुने भएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय का. म. न. पा वडा नं ११ थापाथली काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । 

     

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । \

    एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान

    काठमाडौँ ।मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो ।

     

    यसमा चरण (लट–१)को लप्सीफेदी–रातामाटे–न्यु हेटौडा, दोस्रो चरण ९लट–२० को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो ।

    फर्ष्ट माइक्रोफाइनान्सको साधारण सभा पुस ११ गते , ९.४७ लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    प्रभु केवलकारले  मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने

    काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ ।

     

    यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

    सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिँदै

    काठमाडौं ।  सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज बुधबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८४ नामको ऋणपत्र जारी गरेको छ ।  सरकारले ३ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो । 

     

    विकास ऋणपत्र २०८४ को मंसिर १२ गते बुधबार विहान १० बजेदेखि अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने मंसिर १३ गते विहीबार निष्कासन हुने जनाइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर १२ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

     

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज मंसिर १२ गते बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १ खर्ब रुपैयाँ तान्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

    मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

     

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिनुभएको हो ।

     

    स्रोतको सुनिश्चितताबिना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उहाँले बजेटको समीक्षा गर्न सकिने तर काम गर्ने शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

    सुन व्यवसायीका संगठनमा आबद्ध नभएकालाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दायर गरेको  निवेदनमाथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

     

    अन्तरिम आदेशमा भनिएको छ ‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’

    अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छ : मन्त्री पौडेल

    नारायणगढ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताउनुभएको छ । 

     

    मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा सुभारम्भ एवं निरीक्षण तथा अनुगमन पछि आयोजित अन्तक्र्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालमा सबै औषधि उपलब्ध हुनपर्छ कुनै पनि औषधि छैन भनेमा त्यो अब गैरकानुनी ठहर्दछ ।”

    काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरिँदै

    काठमाडौँ । काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ ।

     

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले केही दिन अघि पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण गर्न निर्देशन दिनुभएको थियो । 

     

    अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’

    एनपीएलमा जनकपुर बोल्ट्सको टाइटल्स स्पोन्सर सम्झौता डीएनए इन्टरनेशनल नेपालसँग सम्पन्न

    काठमाडौँ । ड्रिम स्पोटर्सको स्वामित्व रहेको जनकपुर बोल्ट्सले टाइटल्स स्पोन्सरसँग समझौता गरेको छ ।शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जनकपुर बोल्ट्सका लागि यो सम्झौता डीएनए इन्टरनेशनल नेपालसँग भएको हो ।

     

    सम्झौताबारे जानकारी गराउँदै जारी विज्ञप्तिमा भनिएको छ‘ जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसंँग प्रायोजन सम्झौता गरेको छ। रन्जना ट्रेड सेन्टर आधिकारिक बिक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो। डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ ।’

    \उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई सुझाव पठाउन निर्धारित समय सकिँदै

    काठमाडौँ । आर्थिक सुधारका लािग राय सुझावहरू उपलब्ध गराइदिन आम सरोकारवालाहरूलाई दिइएको समय अब सकिन लागेको छ ।नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आह्वान गरेको समय सकिन लागेको हो ।

     

    वर्तमान आर्थिक समस्या समाधान गर्दै समतामूलक  तथा दिगो उच्च आर्थिक वृद्धि , रोजगारी सिर्जना, आर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक उत्पादनशील अर्थतन्त्र निर्माण , गरिबी निवारण गरी समृद्ध  नेपाल निर्माण गर्न आर्थिक सुधारका सझुावहरू  ६  मिहना भित्र दिने गरी कार्य प्रारम्भ गरेको छ । यसै सिलिसलामा उद्योगी व्यवसायी, संघसंस्था , सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता ,विज्ञ तथा आम नागरिककोे महत्वपूर्ण राय सुझाव लिखितरूपमा दिन आयोगले सार्वजनिक आह्वान गरेको थियो ।

    काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

    काठमाडौँ ।देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

     

    काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ । 

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको  तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ । 

     

     

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस