काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १३ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सर्पोट लघुवित्त र फरवार्ड लघुवित्तको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्तको १३ दशमलव ७७५ प्रतिशत र फरवार्ड लघुवित्तको १३ दशमलव ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात फरवार्ड लघुवित्तको शेयर मूल्य रू १ हजार ३५२ दशमलव १६ र सर्पोट लघुवित्तको रू २ हजार ९२४ दशमलव १९ कायम भएको छ ।
सर्पोट लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू ३ हजार ३२७ मा र फरवार्ड लघुवित्तको रू १ हजार ५३२ मा अन्तिम कारोबार भएको थियो ।
वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ ।
फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्क कम्युनिकेसन्सले जनाएको छ । नेपालमा झन्डै आधा जनसङ्ख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित हुनुका साथै सहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता हटाउँदै विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने वर्ल्डलिङ्कले जनाएको हो ।
आज यहाँ आयोजित कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
एनएमबि सरल बचत फण्ड–इको सूचीकृत शेयरमा लगानी रू. २ अर्ब ३४ करोड भन्दा बढी
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड -इले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोजको तुलनामा कात्तिक मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू।२ अर्ब ३७ करोड रहेकोमा कात्तिक मसान्तमा रू २ अर्ब ३४ करोडमा झरेको छ ।
त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा रू ३३ करोड २१ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ९ प्रतिशत कमी हो । सो अवधिमा फण्डले रू .३६ करोड ६४ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा घटेको हो ।
सुपरमाई हाइड्रोपावरको साधारण सभा मंसिर २८ गते , १२.६३ प्रतिशत लाभांश प्रस्ताव गर्ने
काठमाडौं ।सुपारमाई हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र करसहित ५।६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
शेयर बजार : नेप्से परिसूचकमा ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा, ८ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा आएको छ । आज ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहका सूचक सकारात्मक रहेका छन् । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३०७ कम्पनीको १ करोड ६६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एक्सेल डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।
निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ ।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो ।
इमर्जिङ्ग भेन्चरको साधारण सभा मङ्सिर २१ गते , १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने
काठमाडौं । इमर्जिङ्ग भेन्चर लिमिटेडको वार्षिक साधारण सभा मङ्सिर २१ गते गर्ने भएको छ । सभा कृष्ण टावर दोस्रो तल्ला नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
एनएमबि फिप्टीले कात्तिक मसान्तमा रू. २३ करोड २८ लाख नाफा कमायो
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तमा रू। २३ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा भने ५ दशमलव २८ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू. २४ करोड ५८ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको खर्चमा वृद्धि भएकाले र नाफा घटेकाले नाफा प्रभावित भएको हो ।
लक्ष्य क्यापिटलको साधारण सभा पुस ६ गते , ३.१५ प्रतिशत लाभांश प्रस्ताव गर्ने
काठमाडौं । लक्ष्य क्यापिटल लिमिटेडले पुस ६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले ललितपुर पार्टी प्यालेस, सातदोबाटो, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
आज सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज नेप्सेमा सूचीकृत २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर १३ गते बिहीबार अन्तिम दिन हो । यसदिन सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी९४, सुनसरीमा बिहान ११ बजे सरु हुनेछ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँ
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १८ सय रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३२.१२ र चाँदी प्रतिऔंस २९.८९ डलरमा कारोबार भइरहेको छ ।
मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति सहभागी हुनेछन् ।
अन्तःशुल्क स्टिकर छपाई भएको भ्रष्टाचारमा दोषी ठहर भएको पौडेल र श्रेष्ठलाई जनही ८ वर्ष कैद र ६ करोड बढी जरिवाना
काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल पौडेल र सफल श्रेष्ठलाई जनही ८ वर्ष कैद र ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ बिगो र सोही बराबर जरिवाना निर्धारण गरिएको छ । विशेष अदालत काठमाडौँ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्धय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले यस्तो सजाय सुनाएको हो ।
अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेषले बिहीबार सजाय निर्धारण गरेको हो । विशेषले २०८१ कात्तिक १४ गते फैसला सुनाउँदै तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो । विशेषले पौडेल र श्रेष्ठलाई मात्र दोषी ठहर गरेको थियो ।
चार महिनामा निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १४ खर्ब रुपैयाँ भन्दा बढी
काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा १४ अर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।ती कम्पनीहरू मध्ये एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्ने ५ कम्पनी रहेका छन् । अन्य कम्पनीहरूको व्यापार १ अर्बभन्दा कम रहेको छ । १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्नेहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी , सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।
खाता रोक्का गर्ने कुलमानको पत्रले विवाद चर्काउँदै, मन्त्री सचिव र मन्त्रालयका पदाधिकारीबीच छलफल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कानुनी व्यवस्था नाघेर खाता रोक्कादेखि कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेको निष्कर्ष सरकारले निकालेको छ ।ऊर्जामन्त्री दीपक खड्का, सचिव सुरेश आचार्य र मन्त्रालयका विज्ञ प्रवल अधिकारीबीच भएको अनौपचारिक छलफलमा यो निष्कर्ष निकालिएको हो।
बिहीबार बिहान भएको अनौपचारिक छलफलमा कुलमानले कानुन मिच्दै डेडिकेटेड र ट्रंक लाइन महसुल नतिरेका ३४ वटा उद्योगको खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको निष्कर्ष निकालिएको सम्बद्ध स्रोतले जनाएको हो।कुलमानले आफू कानुनभन्दा माथि रहेकोजसरी जथाभावी पत्र काट्ने काम गरेका छन्। यो अत्यन्तै गम्भीर विषय हो । कुलमानले लिएको कदमबारे मन्त्रालयमा मन्त्रीसँगको छलफलमा चर्चा चलेको थियो । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्ने उर्जामन्त्रीसहितको बैठकमा तय भएको छ।
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आराधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । निकट भविष्यमा आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा ती पुरस्कार प्रदान गरिनेछ ।
कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न रियल टाइम सफ्टवेयर प्रयोगमा
काठमाडौँ । वित्त परिचालन हुने परियोजनासम्बन्धी सम्झौता भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भई यो सम्झौता भएको हो ।अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।
फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन् ।यो सम्झौताको लक्ष्य नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने रहेको छ ।
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।
सरकारद्वारा वर्ल्डलिंकलाई नयाँ लाइसेन्स जारी
काठमाडौँ । सरकारले वर्ल्ड लिंकलाई नयाँ लाइसेन्स दिएको छ । २५ वर्षे अवधि सकाएर अनुमति पत्र विहीन भएको वर्ल्डलिंकलाई सरकारले नयाँ लाइसेन्स जारी गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले वर्ल्डलिंकलाई नयाँ लाइसेन्स जारी गर्ने निर्णय गत शुक्रबार ग¥यो ।प्राधिकरण बोर्ड बैठकले वर्ल्डलिंकलाई आगामी १० वर्षका लागि लाइसेन्स दिने निर्णय गरेको छ । नेपालको इतिहासमै पहिलो पटक २५ वर्ष पार गरेको कुनै पनि इन्टरनेट सेवा प्रदायकले पुनः नयाँ लाइसेन्स पाएको यो पहिलो घटना हो ।
२०५५ चैत १६ गते इन्टरनेट (इमेलसहित) सेवाको लाइसेन्स पाएको वर्ल्डलिंकको २५ वर्षे अवधि २०८० चैतमै सकिएको थियो । तर लामो समयदेखि सरकार र वर्ल्डलिंकबीच करको विषयलाई लिएर विवाद चलेको थियो । जसका कारण झण्डै ७ महिनादेखि वर्ल्डलिंक बिना लाइसेन्स सञ्चालन भइरहेको थियो।करसम्बन्धी विवादलाई लिएर वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएपछि वर्ल्डलिंक बक्यौता बुझाउन बाध्य भएको थियो। गत कात्तिक ३० गते वर्ल्डलिंकले जरिवानासहित २ अर्ब १५ करोड रुपैयाँ बक्यौता बुझाएको थियो।
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर खाठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।