
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले माथिल्लो अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको सहभागिता हुने बताउनुभएको छ ।
सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज साँझ यहाँ आयोजना गरेको मनराज–एसकाज पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले चाँडै माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सुरु हुने र त्यसमा सङ्खुवासभावासीको सहभागिता हुने बताउनुभएको छ ।
“स्रोतको हिसाबले सङ्खुवासभा धनी जिल्ला हो, सङ्खुवासभावासीले आफ्नो स्रोतको उपयोग गर्न पाउनुपर्छ, सङ्खुवासभाका बासिन्दाले माथिल्लो अरुणको शेयर प्राप्त गर्नेछन्, गरिब तथा विपन्न वर्गका जनतालाई जलविद्युत्को शेयर सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उहाँले भन्नुभयो ।
मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दापनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने उल्लेख गर्नुभयो । उहाँले खोेला बेच्न लागियो भनेर समाजमा गलत भाष्य सिर्जना गर्न खोजिएको बताउनुभयो । “खोला बेच्न लागिएको होइन, यहाँ उत्पादित विद्युत्लाई आन्तरिक खपत बढाएर बाँकी विद्युत् छिमेकी मुलुक निर्यात गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सङ्खुवासभाको विकासमा एसकाजले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले पठन संस्कृतिको विकासलाई देशभर फैलाउन मनराज प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
एसकाजका अध्यक्ष शङ्कर खनालले सङ्खुवासभामा जन्मेर पत्रकारितामार्फत मुलुकको विकासमा योगदान दिने पत्रकारलाई विगत आठ वर्षदेखि पुरस्कार प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।
मनराज–एसकाज पत्रकारिता पुरस्कार उदासलाई
यसवर्षको मनराज–एसकाज पत्रकारिता पुरस्कार अग्रज पत्रकार एवम् साहित्यकार ज्ञान उदासलाई प्रदान गरिएको छ ।
सङ्खुवासभाको चैनपुरमा जन्मेर विगत चार दशकदेखि पत्रकारिता र साहित्यमार्फत देशको विकासमा योगदान पु¥याएवापत उदासलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । उक्त पुरस्कार ऊर्जामन्त्री खड्काले उहाँलाई प्रदान गर्नुभयो ।
उहाँलाई नगद रु ५० हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । सम्मानित उदास नयाँ खबर कागज साप्ताहिकका सम्पादकसमेत हुनुहुन्छ । उहाँले विसं २०३९ देखि उक्त पत्रिका प्रकाशन गर्दै आउनुभएको छ ।
विसं २०७३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कार विसं २०७३ मा गङ्गा विष्ट, २०७४ मा इन्द्र गिरी, २०७५ मा दीपेन्द्र शाक्य, २०७६ मा कृष्णराज शाक्य, २०७७ मा नवीन गुरुङ, विसं २०७८ मा प्रेमप्रसाद निरौला, विसं २०७९ मा डा मातृकाप्रसाद तिम्सिना र विसं २०८० मा राष्ट्रिय समाचार समिति ९रासस० सङ्खुवासभाका प्रथम संवाददाता भोलानाथ गौलीलाई प्रदान गरिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij