काठमाडौँ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले छैटौँं साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । संस्थापक तथा अध्यक्ष निराजन थापाले सोमबार बसेको साधारण सभाबाट आईपीओ निकाल्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यो होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको जनाइएको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा वितरण गर्ने गरी आईपीओ निष्काशन गर्न लागेको जनाएको हो ।
यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको जनायो । अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आईपीओ निष्काशनको प्रक्रियामा जाने तयारी भएको कम्पनीको अध्यक्ष निराजन थापाले सञ्चारकर्मीसँगको कुराकानीमा जनाए ।
काठमाडौंको बुढानीलकण्ठ ६,गणेश चौकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नति गर्न आईपीओ आवश्यक भएको जनाएको छ ।
साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापाले जनाए । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दै जाने जनाइएको छ । होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित भएको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको “रिजेन्टा प्लेस” ब्राण्डले गर्दै आएको छ ।