Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

अधिकतम ३ वर्षसम्म रहने गरी २१ वटा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखियो

अधिकतम ३ वर्षसम्म रहने गरी २१ वटा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखियो

  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसारको काम नगरेपछि २१ वटा निर्माण कम्पनीहरुलाई  कालोसूचीमा राखेको छ। १५ वटा कम्पनी एक वर्षका लागि, दुई कम्पनी २/२ वर्ष, २ कम्पनी अढाइ र एउटा/एउटा कम्पनी डेढ वर्ष र तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।तीन वर्षका लागि सार्वजनिक खरिदका गतिविधिमा सहभागी हुन नपाउनेगरि कालोसूचीमा पर्ने कम्पनीमा जोरपाटीको नव दुर्गा बिल्डर्स रहेको छ । शिवप्रसाद दंगाल सञ्चालक रहेको उक्त कम्पनीलाई कालोसूचीमा राख्न शंखरापुर नगरपालिकाको कार्यालयले सिफारिस गरेको हो।

    सडक विभागको रुकुम पश्चिमको चौरजहारीस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा सपना शैलुङ जेभी कालोसूचीमा परेको छ। यो जेभीमा हेटौंडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको शैलुङ कन्स्ट्रक्सन छन्। २ वर्ष ६ महिनाका लागि कारबाहीमा परेका यी कम्पनीमा सपना हरिप्रसाद ढकालको हो भने शैलुङ शारदाप्रसाद अधिकारीको हो।

    यसैगरी २ वर्षका लागि कारबाहीमा परेका कम्पनीमा रुकुम पश्चिम मुसीकोटको तेनिम मल्टीपर्पोज कम्पनी र  बाँके कोहलपुरको केआर कन्स्ट्रक्सन छन्। केआर कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न नेपाल राष्ट्र बैंक बालुवाटारले लेखिपठाएको हो।१ वर्ष ६ महिनाका लागि कालोसूचीमा पर्नेमा तनहुँ बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन छ। उक्त कम्पनीलाई तनहुँको भानु नगरपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही गरेको हो।

    एक वर्षका लागि कालोसूचीमा परेकाहरुमा सुर्खेत वीरेन्द्रनगरको तप्त निर्माण सेवा, पूर्ण निर्माण सेवा, आइए कन्स्ट्रक्सन, बाँकेको हार्दिक कन्स्ट्रक्सन, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, हुम्लाको यास के शाही कन्स्ट्रक्सन, एसके निर्माण सेवा, काभ्रेको ट्राभलर्स क्रियु कन्स्ट्रक्सन, खोटाङको युनिक निर्माण सेवा छन्। यस्तै एक वर्षकै कार्बाहीमा परेकाहरुमा काठमाडौं कालिकास्थानको युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, जीसी कन्स्ट्रक्सन कास्की, महिमा कन्स्ट्रक्सन बर्दिया र जायसवाल कन्स्ट्रक्सन धनुषा छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij