
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता १७ अर्ब बढीको आएको छ ।उद्योग विभागका अनुसार कात्तिक २०८१ सम्म १७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको हो ।वैदेशिक लगानी पर्यटन क्षेत्रका साना उद्योगमा केन्द्रित रहेको देखिएको छ ।
चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो चौमासिकमा १ सय ५४ उद्योग दर्ता भएका छन् ।यस अवधिमा अटोमेटिक रुटबाट मात्र १ सय ९ उद्योग दर्ता भएका छन् । त्यसमार्फत १ अर्ब ६२ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता प्राप्त भएको देखिन्छ ।तथ्यांक अनुसार वैदेशिक लगानी साना उद्योगमा बढी केन्द्रित छ । चालु आव पहिलो चार महिनामा दुई ठूला, एक मध्यम र १ सय ५१ साना उद्योग दर्ता भएका कम्पनीहरूमध्ये १ सय १३ उद्योग पर्यटन क्षेत्रसँग सम्बन्धित छन् ।
विभागका अनुसार यसरी आउने लगानी अधिकांश रेस्टुरेन्ट व्यवसायमा केन्द्रित रहेको छ । सरकारले नेपालमा एफडीआईको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । सरकारले असोज २०७९ देखि उक्त सीमा घटाएको थियो । अधिकतम सीमा भने तोकिएको छैन । यसरी लगानीको सीमामा सहजीकरण भएसँगै पछिल्लो समय साना र मझौला उद्योगमा लगानी बढ्न थालेको हो ।अब सरकारले अघिल्लो आवदेखि विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृति गर्ने प्रणाली समेत कार्यान्वयनमा ल्याएको छ ।
यस प्रणाली अनुसार कुल ५० करोड रुपैयाँसम्म शतप्रतिशत शेयर वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले कम्पनीमा पूँजी वृद्धि गर्न निवेदन दिन सक्छन् । यसरी प्रणालीमा भएको सुधारले समेत साना लगानीकर्ताको आगमन सहज भएको जनाइएको छ ।
अघिल्लो आव २०८०÷८१ को वर्षभरि कुल ४ सय ७ उद्योग दर्ता भएका थिए । ती मध्ये १ सय ९७ पर्यटन उद्योगका रूपमा दर्ता भएका थिए ।
गत वर्ष आएकामध्ये पनि कुल ३ सय ८६ उद्योग साना थिए । पर्यटन बाहेक सेवा उद्योगका नाममा दर्ता भएका छन् । होटल व्यवसायीका अनुसार पछिल्लो एक दशकयता ठमेल, पोखरा लेकसाइड जस्ता क्षेत्रमा चिनियाँ लगानीका धेरै रेस्टुरेन्ट खोलिएको भनिएपनि यसको ठोस तथ्यांक उपलब्ध रहेको पाइँदैन् ।
उद्योग विभागका अनुसार नेपालमा अहिलेसम्म एफडीआईका २ हजार १ सय ४७ उद्योग पर्यटन क्षेत्रमा मात्र दर्ता भएका छन् । ती मध्ये गत आवमा १ सय ९७ उद्योग पर्यटनमा मात्र दर्ता भएको थियो । अहिलेसम्म १ खर्ब १३ अर्ब ६८ करोड बराबर लगानी प्रतिबद्धता यस क्षेत्रमा आएको छ । अघिल्लो आव १२ अर्ब २७ करोड बराबर एफडीआई पर्यटन क्षेत्रमा आएको थियो ।
आव २०८०÷८१ सम्म कुल ५ खर्ब १३ अर्ब रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । त्यसमध्ये चीनबाट कुल २ खर्ब २६ अर्ब ९१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।कुल प्रतिबद्धतामध्ये चीनबाट मात्र ४४.३३ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । भारतबाट १ खर्ब ६ अर्ब रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । जुन कुल प्रतिबद्धताको २०.८६ प्रतिशत हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij