अन्नपूर्ण–३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका–२ रुममा रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, मङ्गला गाउँपालिका–२ रणवाङमा रु एक करोड ३० लाख र धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका–१ रत्नेचौर, रघुगङ्गा–१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।