काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् ।
७६औं मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका हुन् ।
‘राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ’, उपप्रधानमन्त्री पौडेलले भने ।
उनले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।
नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा संक्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गरे ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानून बनाउन सरकारको ध्यानाकर्षण गराए ।
मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराईले महिला, श्रमिक, किसान, अल्पसङ्ख्यकहरूको मानवअधिकारको रक्षामा जोड दिए ।
मानव अधिकार आयोगका सदस्य लिली थापाले अन्तर्राष्ट्रियस्तरमा नेपालको मानव अधिकारको अवस्था सन्तोषजनक रहको बताइन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij