
काठमाडौँ । नेपालको उद्योगी व्यवसायी क्षेत्रको शताब्दी पुरानो उद्योगी घराना ज्योति समूह औपचारिक रुपमा अलग भएको छ । सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्व विवादले अन्ततः १०४ वर्ष पुरानो समूह औपचारिकरुपमा अलग भएको हो।भाइ रुप ज्योतिसँगको विवाद समाधान नभएपछि पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका छन्। उनले आफ्नै नाममा आइतबार पद्म ज्योति समूह घोषणा गरेका हुन्।
पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन्।समूहको लोगो पनि सार्वजनिक गरिएको छ। कलश र अष्टमंगल समावेश गरिएको लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने समूहको भनाइ छ। समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ।
समूहका अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई आत्मसात गर्दै नयाँ अध्याय सुरु गरेको बताउँदै भने ‘आजबाट नयाँ अध्याय सुरु भएको छ । ज्योति समूहप्रतिको विश्वासलाई आत्मसात गर्दै नयाँ अध्याय सुरु गरेका हौं। हाम्रो सक्रियता व्यवसायमा मात्र नभइ संस्कृति र सामाजिक उत्तरदायित्वमा पनि छ।’पद्यम ज्योतिले केही समययता पारिवारिक विवादबाट गुज्रँदै आएको र विवादका कारण पारिवारिक समूह फुट्नु स्वाभाविक भएको बताए। उनले कुनै पारिवारिक समूह फुट्नु भनेको अझै बलियो हुनु भएको बताउँदै पारिवारिक समूह फुट्ने कुरा संसार भर हुँदै आएको जनाए ।
पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको खुलाउँदै उनले पद्म ज्योति परिवार एकीकृत भएर अगाडि बढ्ने भन्दै समूह नयाँ पुस्ताको नेतृत्वमा विकास, संस्थागत सामाजिक उत्तर दायित्व र मुलुकको आर्थिक समृद्धिमा केन्द्रित हुने बताए।
यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन्।
समूहले यसैवर्ष डेढ अर्ब रुपैयाँ लगानीमा हिमाल मोटर कम्पनी खडा गरिसकेको छ। कम्पनीले वार्षिक १ लाख होन्डा मोटरसाइकल उत्पादन गर्ने क्षमता राख्छ। समूहले विश्वास, आदर र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले आगामी दिनमा निर्यातमूलक उत्पादन, सामुदायिक कार्यक्रम र स्थानीय उद्यमशीलता लगायत क्षेत्रमा लगानी योजना रहेको बताए ।
समूहका निर्देशक सौरभ ज्योतिले पारिपवारिक समूह अलग हुँदा दुःख लागेको भन्दै यसलाई पाठको रुपमा लिएर अगाडि बढ्ने बताए।ज्योति समूहमा हाम्रो र काका रुप ज्योतिको परिवारबीचमा केही समस्या रहेको बताउँदै उनले आज पद्म ज्योति समूह घोषणा गरिएको र परिवार छुट्दा धेरै दुःख लागेको तर यसलाई पाठका रुपमा लिएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मणिहर्ष ज्योतिले सन् १९२० मा सुरु गरेको व्यवसाय देशमा विस्तार भएको ज्योति समूहका नामले चिनिएको थियो। ज्योति समूह देशकै प्रतिष्ठित औद्योगिक घराना बन्न सफल भएको थियो।क्यान्सरका कारण ३१ वर्षअघि मणिहर्षको निधन भएको थियो। मणिहर्षको निधनपछि २७ वर्षसम्म ज्योति समूहको विरासत अध्यक्षका रूपमा जेठा छोरा पद्म ज्योतिले सम्हालेका थिए। तर, रूप ज्योतिले चार वर्षअघि आफूलाई अध्यक्ष घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको थियो।
बाबु मणिहर्षले २०३९ सालमै अंशबण्डा गरिदिए पनि सम्पत्तिमा दुई दाजुभाइबीच लामो समयदेखि विवाद छ।दाजु भाइबीचको सम्पत्ति विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चको आदेशपछि पनि विवाद मिल्न सकेको छैन।ग्राण्डी सिटी क्लिनिक खाली गराउने विषयमा ज्योति दाजुभाइबीचको लफडा फेरि चर्किएको छ। पद्म ज्योतिले आफ्नै भाइ डा. रुप ज्योतिले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिको नाममा आफ्नो सम्पत्ति अवैध ढंगले हडपेको भन्दै गत कात्तिक विज्ञप्ति निकालेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij