Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

उद्योगहरूमा शुरु भयो लोडसेडिङ, उपाय नभएको कुलमानको भनाइ

उद्योगहरूमा शुरु भयो लोडसेडिङ, उपाय नभएको कुलमानको भनाइ

  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ गर्न शुरु गरेको छ । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन बन्द भएका कारण प्राधिकरणले पिक समय (साँझ ५ देखि ९ बजेसम्म)मा उद्योगमा लोडसेडिङ गर्न थालेको हो।

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा अहिले पिक समयमा विद्युत् व्यवस्थापन गर्न समस्या भइरहेको जनाए । उनले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती नगरिने पनि प्रष्ट पारे।घिसिङले माथिल्लो तामाकोशी बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए।

    उनले भने ‘पिक समयमा आयात अनुमति पाएका छैनौं। माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिने अवस्था हुन्थ्यो। माथिल्लो तामाकोशीको मर्मत तीव्र्र गतिमा भइरहेको छ। आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ,’ 

    प्राधिकरणलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले आगामी चैत २ गतेसम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको छ। तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ।

    कुलमानका अनुसार माथिल्लो तामाकोशीको पुनर्निर्माण सम्पन्न नभएसम्म विद्युत् बढी माग हुने साँझको समयमा औद्योगिक क्षेत्रमा केही समय लोडसेडिङ गर्नुको उपाय अहिले छैन।असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीको संरचनामा क्षति पु¥याएका कारण आयोजनाबाट विद्युत उत्पादन बन्द छ। प्राधिकरणले माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको जनाएको छ।

    प्राधिकरणका अनुसार आयोजना मर्मत सम्भारपछि विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने छ । हिउँदयाममा ग्राहकले दैनिक १८ घण्टासम्म अंध्यारोमा बस्नु परेको पृष्ठभूमिमा कुलमानले २०७५ वैशाख अन्तिममा लोडसेडिङ अन्त्य गरेका थिए।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij