Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पहिलो त्रैमासिकमा अधिकांश बैंकको नाफा घट्यो , एक बैंक घाटामा

पहिलो त्रैमासिकमा अधिकांश बैंकको नाफा घट्यो , एक बैंक घाटामा

  • काठमाडौँ  । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को  पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको नाफा घटेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार   खुद नाफामा १८.८२ प्रतिशतले ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ घटेको हो । 

    असोज मसान्तसम्ममा बैंकहरुको खुद नाफा  १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ  भएको छ । गत वर्षको असोजसम्ममा बैंकहरुका. खुद नाफा १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ थियो । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको जनाइएको छ ।

    देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितिबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताले  पनि बैंकमा असर परेको बैंकरहरु बताउँछन् । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताले व्यवसायिक वातावरण सकारात्मक बन्न नसक्दा बैंकहरूबाट कर्जा प्रवाह हुन नसकेको हो । साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ । 

    समीक्षा अवधिमा विभिन्न ५ बैंकको नाफा मात्रै बढेको छ । अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशतले बढेर ५८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । 
    सोहीक्रममा  ग्लोबल आइएमई बैंकको नाफा २२.९१ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशतले बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा पुगेको हो ।

    नाफा घटेका १५ वाणिज्य बैंकहरूमा सबै भन्दा  सिटिजन्स बैंकको नाफा घटेको छ । सिटिजन्सलाई  २२ करोड ४ लाख रुपैयाँ नोक्सानी भएको छ । गत आवको सोही अवधिमा  असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । 

    यसैगरी कृषि विकास बैंकको ९६.९९ प्रतिशतले घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा भएको देखिएको छ ।

    सोहीगरी  नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशतले घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशतले घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशतले घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा भएको देखिएको छ ।

    सार्वजनिक विवरण अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशतले घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशतले घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा भएको छ ।  

    यस्तै, हिमालयन बैंकको नाफा ३.२४ प्रतिशतले घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २.२० प्रतिशतले घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कायम भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij