बुटवल । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति एक तिहाई बढी भएको छ । आयोजनाले सार्वजनिक गरको प्रतिवेदन अनुसार उक्त सुरुङ मार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत र वित्तीय प्रगति भने ३२.२ प्रतिशत पुगेको हो ।आयोजनाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न मात्र बाँकी छ ।
आयोजनाका अनुसार मुख्य टनेल ९९७ मिटर खनेर सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी सार्वजनिक गरेकी छिन् । उनका अनुसार अब ९२ मिटर खनेपछि मुख्य टनेल ब्रेक थ्रु हुने छ ।
अबको २५ दिनभित्र मुख्य टनेल र बाइपास ३ टनेल सबै ब्रेक थ्रु हुने विश्वास आयोजनाले गरेको छ ।गत २६ भदौमा तेस्रो र ४ असोजमा पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको थियो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइड तर्फको क्षेत्र हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन समय लागेको आयोजनाका पदाधिकारीहरूले जनाएका हुन् । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी रहेको ज्ञवालीको भनाइ छ ।
दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग बनिरहरेको छ । यो सुरुङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको हो ।सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजना अघि बढेको यस खण्डको चार किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा सुरुङ मार्गको ठेक्का लिएको छ । अहिले दैनिक डेढ सयदेखि दुई सय जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ ।आयोजनाले जनाए अनुसार सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको छ । आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ ।
सुरुङमार्गभन्दा दक्षिण तर्फको सडकलाई सुरक्षित बनाउन रक सेड र सडकको डिजाइनको काम समेत अब अघि बढाइनेछ योजना प्रमख कृष्णराज अधिकारीले जनाए । त्यसका लागि पनि डिजाइन फाइनल भइसकेको उनले थप जनाकारी दिए ।सिद्धबाबा क्षेत्रको बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम गरिनेछ ।
योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन काम थालिने छ ।सिद्धबाबा सुरुङमार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङमार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा भनिएको छ ।
ईपीसी मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।आयोजनाअन्तर्गत २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति हुनेछ । ७ सय ८० मिटरमा रकसेड, १ सय ५५ मिटर, १ सय ४५ मिटर र १ सय ३१ मिटर गरी ४ सय ३१ मिटरका तीन वटा बाइपास सुरुङसमेत निर्माण गरिनेछ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण गरिने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij