काठमाडौँ । पछिल्लो समय ब्याजदर घटेपछि बैंकहरूको घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को ४ महिनामा बैंकहरूले घरजग्गा क्षेत्रमा जाने कर्जा ६.६४ प्रतिशत बढाएका हुन् । चालु आवको कात्तिकसम्म बैंकहरूले घरजग्गा क्षेत्रमा २ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका थिए ।
सुस्त रहँदै आएको घरजग्गा क्षेत्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएर एकल अंकमा झारे । विगतमा ब्याजदर उच्च भएपनि पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर एकल बिन्दुमा झारिएको हो । त्यसैले पनि घरजग्गा क्षेत्रमा प्रवाह गर्ने कर्जा बढन गएको हो ।
समीक्षा अवधिमा सबैभन्दा धेरै कुमारी बैंकले घरजग्गा क्षेत्रमा लगानी गरेको देखिन्छ । यस बैंकले १५८.०८ प्रतिशत बढाएर ३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको छ । जबकि गत वर्षको कात्तिकमा १ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ मात्रै उक्त बैंकले घरजग्गा क्षेत्रमा लगानी गरेको थियो ।
यसैगरी लक्ष्मी सनराइज बैंकको ४८.२८ प्रतिशत बढेर १५ अर्ब १० करोड रुपैयाँ, प्राइम बैंकको २२.९७ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकको १७.१४ प्रतिशत बढेर १३ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ११.६७ प्रतिशत बढेर १६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरेका छन् ।
प्रभु बैंकको ११.१७ प्रतिशत बढेर १५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकको ९.२१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको ७.७२ प्रतिशत बढेर २३ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६.४२ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ३२ लाख रुपैयाँ घरकर्जा प्रवाह गरेका छन् ।
यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५.०६ प्रतिशत बढेर ८ अर्ब २८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.२२ प्रतिशत बढेर २४ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ, एनएमबी बैंकको २.६७ प्रतिशत बढेर ४ अर्ब ९१ करोड २१ लाख रुपैयाँ, सिटिजन्स बैंकको २.०८ प्रतिशत बढेर ४ अर्ब १६ करोड ४९ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।
नेपाल एसबीआई बैंकको २.०३ प्रतिशत बढेर ४ अर्ब ८२ करोड २५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.५९ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएको देखिन्छ ।
तर, समीक्षा अवधिमा विभिन्न ५ बैंकले भने घरजग्गामा जाने कर्जा प्रवाह घटाएका छन् । यस अवधिमा सानिमा बैंकले सबैभन्दा धेरै घरजग्गामा प्रवाहमा हुने कर्जा प्रवाह घटाएको छ । यस बैंकको १३.६३ प्रतिशत घटेर ५ अर्ब ६३ करोड २२ लाख रुपैयाँमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा ६ अर्ब ५२ करोड १५ लाख रुपैयाँ कर्जा घरजग्गामा प्रदान गरेको थियो ।
यसैगरी घटाउने क्रममा राष्ट्रिय वाणिज्य बैंकको १२.२५ प्रतिशत घटेर ९ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ९.०८ प्रतिशत घटेर २७ अर्ब २१ करोड ७५ लाख रुपैयाँ, हिमालयन बैंकको ८.५० प्रतिशत घटेर १३ अर्ब २९ करोड ९८ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ०.४९ प्रतिशत घटेर १ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij