![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ३ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
निजी लगानीलाई प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्नुहुँदै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको विस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो।
सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गर्नुभएको हो। त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबिच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभा मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गंगाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
राधी विद्युत कम्पनीको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ३८२.२० रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ३६४.८७ रुपैयाँ कायम भएको छ ।
एरो फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्ने
काठमाडौं । एरो फर्मास्यूटिकल्स लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा, गौशाला, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा,४ अर्ब २७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा आएको छ । आज ४ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । १३ मध्ये ३ वटा समूहका सूचकमात्र बढेका छन् ।
यस दिन ३१४ कम्पनीको ८१ लाख ४७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः रिभल्सफल्स पावर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट परेका छन् ।
फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडको साधारण सभा पुस २५ गते , आईपीओ निष्कासन गर्ने प्रस्ताव
काठमाडौं । फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
एशियन कंक्रिटोको साधारण सभा पुस २५ गते , प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव
काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासन लगायतका प्रस्ताव पारितका लागि पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सनको साधारण सभा पुस २८ गते
काठमाडौं । राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
पाँचथर पावरले १०० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यसपटक नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौं । नेपाल फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने भएको छ । यस संस्थाको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८० /८१को नाफाबाट ३.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०. १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।अब नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लगद लाभांश वितरण गरिनेछ ।
नेष्डो समृद्ध लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
ग्रीन डेभलपमेन्ट बैंकको ६.०५२७ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्रीन डभेलपमेन्ट बैंकले ६.०५२७ लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
अठ्सठ्ठी लाख रुपैंया र रकम उल्लेख गरिएका चेक थान ५ सहित हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
काठमाडौँ ।प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाइ ठुुलो परिमाणमा नगदसहित पक्राउ गरेको छ ।प्रहरीलेविशेष सूचनाको आधारमा अठ्सठ्ठी लाख रुपैंयासहित विभिन्न मालसामान बरामद गरेको हो ।
प्रहरीले जनाए अनुसार मिति २०८१।०९।०२ गते पौने दशबजेको समयमा काठमाडौ महानगरपालिका वडा नं ९ एयरपोर्ट शम्भुमार्ग स्थित सडक खण्डमा अवैध रुपमा हुण्डी कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटि गएको प्रहरी टोलीले शंका लागि सोही स्थानमा रोकी राखेको प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा चार जनाको साथबाट नेपाली नगद रू अठ्सठ्ठी लाख रुपैंया र रकम उल्लेख गरिएका चेक थान ५ सहित फेला पारी रितपूर्वक बरामद गरी नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ संशोधित १२५९क० बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको छ ।
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
टोकियो ।जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल शुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ । यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् । होन्डाका एक प्रवक्ताले बुधबार भन्नुभयो, “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ ।” “हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन,” प्रवक्ताले एएफपीसँग भन्नुभयो ।
भारतका लागि नेपाली राजदूतको जिम्मा फेरि डा. शंकर शर्माले पाए
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् ।
काठमाडौं। एनएमबि बैंकले पोखरामा साना तथा मझौला उद्यम र लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।बैंकले अमेरिकाको दातृ नियोग एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआइडी) सँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको जनाएको हो ।
कार्यक्रममा एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो। सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए। आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश
काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।
यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ ।
सुनको मूल्य तोलामा ७०० सय रुपैयाँ घट्यो ,प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ
काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० सय रुपैयाँले घटेर १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको पनि ५ रुपैयाँले घटेर प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६४४ र चाँदी प्रतिऔंस ३०.३९ डलरमा कारोबार भइरहेको छ ।
२६ औँ पोखरा सडक महोत्सव पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइडमा आयोजना गरिँदै
काठमाडौँ । २६ औँ पोखरा महोत्सवको आयोजना गर्न लागिएको छ । आयोजकले एक पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । आयोजकका अनुसार पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष देखी निरन्तर रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रैजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना गर्दै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई "अंग्रैजी नयाँ वर्षको गन्तव्य स्थल को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले मिति २०८१ पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । "सडक मै खाउ, सडक मै नाचौं सडक मै रमाउँ" भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ ।
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गर्नुभएकोे हो ।
विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा पाण्डेले बताउनुभयो ।
मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन
काठमाडौँ ।अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ ।
गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो ।
मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व सङ्कलन गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij