Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  पुस ४ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू....

नयाँसडक बुलेटिन : यस्ता छन्  पुस ४ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ४ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    एसबीआई बैंकको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबीआई बैंकको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४२५.८२ रुपैयाँ कायम भएको छ ।

    माउन्टेन हाइड्रो नेपालको साधारण सभा पुस २४ गते , मर्जर प्रस्ताव पेश गर्ने

    काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कालिमाटी ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ । 

     

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

     सभाले अन्य जलविद्युत आयोजनालाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

    आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यस दिन नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

     

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले पुस ७ गते अर्थात आइतबार बुकक्लोज गर्दैछन ।  यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

    यसपटक विजय लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

     बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

    शैलेश्वरी पावर नेपालले आइपीओ जारी गर्ने

    काठमाडौं ।  शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ प्रस्तावसहित  पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ ।  आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

    सर्वोत्तम सिमेन्टको १० प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्तावलाई अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

    साढे छब्बीस लाख नगदसहित हुण्डी कारोबारमा भारतीय नागरिकसहित संलग्नहरू चार पक्राउ

    काठमाडौँ । काठमाडौँ प्रहरीले साढे छब्बीस लाख नगदसहितका सामानका साथ भारतीय नागरिकसमेत हुण्डी कारोबारमा संग्लन चार जनालाई पक्राउ गरेको छ ।श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक समेत रहेका गुल्मी तम्घास नगरपालिका वडान ४ स्थायी घर भएका भेषराज पाण्डेसहित चार जना पक्राउ परेका हुन् ।

    मन्त्रिपरिषद् बैठक स्थगित

    काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    ‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने ।

    ‘विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्ने’

    पाटन (ललितपुर) ।  सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज यहाँ संयुक्त रूपमा अयोजना गरेको गोष्ठीमा उहाँले ती विधेयक सङ्घीय शासन प्रणालीको सफल कार्यान्वयनका निम्ति अपरिहार्य छन् भन्नुभयो । सभामुख घिमिरेले सङ्घीयता प्रारम्भ भएसँगै तीन तहका सरकारको कार्यक्षेत्र संविधानले तोकेको, राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारहरूको बाँडफाँट भए अनुरूप तीन वटै तहले नीति निर्माण तथा तिनको कार्यान्वयन गर्दै मुलुकको दिगो विकासका साझा उद्देश्य प्राप्तिमा काम गरिरहेका बताउनुभयो ।

    नेपाल र कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क सम्झौता

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    असोजयता सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री

    काठमाडौँ । असोजयता सुपथ मूल्यका पसलबाट ५० हजार क्विन्टल बढी खाद्यान्न बिक्री भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसलबाट ३ महिनामा ५० क्विन्टल खाद्यान्न बिक्री गरेको हो ।माघ २ गतेसम्म संचालन हुने गरी असोजदेखि ३ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलहरूबाट हालसम्म ५० हजार क्विन्टल खाद्यान्न बिक्री भएको हो । संचालन अवधि अब एक महिना बाँकी रहेको भएपनि  कम्पनीले यस पसलमार्फत करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको थियो।

     

    हालसम्म सुपथ मूल्य पसलबाट लक्ष्य अनुसारको खाद्यान्न बिक्री भइरहेको कम्पनीकी बिक्री प्रबन्धक अम्बिका न्यौपानेले जानकारी सार्वजनिक गरेकी छिन् ।

    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।

     

    प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बोलाएर रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा छानबिन गरेर सार्वजनिक गर्ने जोसुकै भए पनि कारबारी गर्न निर्देशन दिनुभएको हो । आईजीपी कुँवरले यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि बताउनुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीर लामिछानेकै भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले जनाएको छ ।

    दशैँको मुखमा आएको बाढी पहिरोयता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्रोत नखुलेको पौने ६६ लाख गरी सवा ३४ करोड बढी जम्मा

    काठमाडौँ । दशैँ शुरू हुन अघि आएको अविरल वर्षा र बाढी पहिरोले ल्याएको विपत्मा गरिएको सहयोग आह्वान अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंसिरको तेस्रो सातासम्म सवा ३४ करोड बढी रकम मात्र जम्मा भएको छ ।असोज ११ गतेदेखि परेको  अवरिल वर्षाले बाढी पहिरोले देशभर विभिन्न सडक पूर्वाधारमा क्षति पु¥याएपछि गरिएको आह्वान अन्तर्गत विभिन्न व्यक्ति र संघसंस्थाहरूबाट असोज १४गते देखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालेयता मंसिर २४ गते सो खातामा ३४ करोड २५लाख ९० हजार १ सय ७७ रुपैया ३७ पैसा जम्मा भएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच बजार र लगानी प्रबर्द्धन समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार  प्रबर्द्धन  एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

     

    कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैया छ ।

    मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न  बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ ।

     

    स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । साथै उहाँले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको  र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उहाँले निर्देशन दिनुभयो ।

    म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो । 

     

    दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।

    राजस्व अनुसन्धान विभागद्वारा भन्सार कर्मचारीसहित ३४ जना विरुद्ध राजस्व चुहावटको मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागद्वारा भन्सार कर्मचारीसहित ३४ जना विरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरिएको छ ।विभागले  राजस्व चुहावटमा संलग्न रहेकाहरूविरुद्ध   जनकपुरधाम लग्मा  जटही छोटी भन्सार कार्यालयका ४ जना कर्मचारी  २५ जना भूतपूर्व भारतीय गोर्खा सैनिकहरु गरी जम्मा ३४ जना प्रतिवादीहरु विरुद्ध शतप्रतिशत बिगो जरिवानासमेत गरी साढे १० करोड बढीको मुद्दा दायर गरेको हो ।

     

    विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम कायम गरिएको विगो रकम रु. पाँच करोड छत्तीस लाख दुई हजार चार सय छैसट्टी रुपैया र सोही ऐनको दफा २३(१) बमोजिम जफत गरी विगोको शतप्रतिशतले हुने जरिवाना रकम रु. पाँच करोड छत्तीस लाख दुई हजार चार सय छैसठ्ठी रुपैया समेत गरी जम्मा रकम रु. दश करोड बहत्तरलाख चार हजार नौ सय बत्तिस जरिवानासमेत र सजायको मागदाबी लिई  मंसिर ३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा अभियोगपत्र दायर गरिएको जनाएको हो ।

    सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो ,प्रतितोला १ लाख ४९ हजार रुपैयाँ

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।
    आज चाँदीको पनि ५५ रुपैयाँले घटेर प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६४४ र चाँदी प्रतिऔंस ३०.३९ डलरमा कारोबार भइरहेको छ ।

    वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षसम्बन्धी प्रतिवेदनमा छलफल

    काठमाडौँ ।वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । 

     

     

    आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन गरिएको कार्यदलले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको छ । 

     

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij