
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आशंकामा ठाउँ ठाउँमा छापा मारेको छ । राजस्व अनुसन्धान विभागले काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड, इन्द्रचोक, मासंगलीलगायत विभिन्न ठाउँका व्यापारिक फर्महरूमा छापा मारेको हो ।
राजस्व अनुसन्धान विभागले मुख्यतः भारतीय कपडाहरूको थोक बिक्री हुने विभिन्न व्यापारिक फर्महरूमा छापा मारेको छ । यसको अलावा राजस्व अनुसन्धान विभागले दर्जन बढी व्यापारिक फर्महरूमा छापा मारेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
राजस्व अनुसन्धान विभागले साडी कुर्ता सुरुवाल, लहँगाको थोक कारोबार गर्ने मासंगलीको एक फर्ममा छापा मारेको छ । नवराज पाण्डेद्वारा सञ्चालित फर्मले साडी, कुर्ता सुरुवाल, लहँगालगायतको थोक कारोबार गर्दा ठुलो मात्रामा राजस्व छली गरेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ ।
यस्तै राजस्व अनुसन्धान विभागले कपडाको थोक कारोबार गर्ने आधी दर्जन भन्दा बढी व्यापारिक फर्महरूमा छापा मारेको छ । विभागले धेरै जसो फर्महरूको स्टक लिएर कारोबार खुला गरेको छ भने केही फर्महरूको सिल खुलेको छैन् ।
यसअघि केही दिन अगाडि राजस्व अनुसन्धान विभागले चोरी तस्करी र राजस्व छली गरेको आशंकामा ठाउँ –ठाउँमा छापा मारेको थियो । न्यूरोड क्षेत्रका कपडा पसल, सेवामूलक व्यवसाय र ठुला साना ट्रान्सपोर्ट कम्पनीहरूलगायतमा छापा मारेको थियो । ट्रान्सपोर्ट कम्पनीहरूमा छापा मारेर कारबाही प्रक्रिया अगाडि बढाएसँगै कपडाको कारोबार गर्ने व्यापारिक फर्महरूमाथि राजस्व अनुसन्धान विभागले अन्धधुन्द छापा हानेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
‘त्रसित व्यवसायी’
राजस्व अनुसन्धान विभागले चोरी तस्करी नियन्त्रण गर्नुको सट्टा कारोबारस्थलमा धमाधम छापा मार्न थालेपछि व्यवसायी त्रसित बनेका छन् । विभागले ६ ÷ ६ महिनामा छापा हान्ने र अनेक बहानामा व्यवसायीलाई दुःख दिनुले आफूहरू काम नै छोड्ने मनस्थितिमा रहेको कालीमाटीका एक व्यवसायीले बताएका छन् ।
विभागले केहीको मुद्दा विभागमा चलिरहेको केहीको छापा हानेको केही महिना मात्रै भएको केहीको अदालतमा मुद्दा चलेको फर्महरूमा समेत छापा हानेर कारबाही गरेको अर्का एक व्यवसायीले नयाँ सडकलाई बताए । विभागले मुहान सफा गर्नुको सट्टा कारोबारस्थलमा छापा हान्नुले व्यापारीहरू त्रसित भएको नेपाल चेम्बर अफ कमर्सका एक पदाधिकारीले नयाँ सडकलाई बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij