Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

भारतको मोतीहारी पाइपलाइनबाट  माघ अघि नै पेट्रोल र मट्टितेल ल्याउने तयारी

भारतको मोतीहारी पाइपलाइनबाट  माघ अघि नै पेट्रोल र मट्टितेल ल्याउने तयारी

  •  काठमाडौं । नेपाल आयल निगमले माघ अघि नै भारतको मोतीहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरिरहोको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतीहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गर्दै आएको हो ।  मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले  पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको जानकारी सार्वजनिक गरेका हुन् ।  निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।    प्रमुख आचार्यले जनाए अनुसार पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याइएको छ ।  

    भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्यांक निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम हुँदै छ ।  निगमले पाइलपाइनबाट गत असोज १८ गते ५ हजार ५ सय किलोलिटर पेट्रोल र गत मंसिर २६ गते १ हजार किलोलिटर मट्टितेल अमलेखगन्ज ल्याएको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगमको तयारी पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षण भइरहेको छ ।   यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ ।यसको कुल लम्बाइ ६९.२ किमी रहेको छ । यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६.२ किमी रहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।  निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलियम  पदार्थ बिक्रीवितरण भइआएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij