Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २५ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २५ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २५ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सव : अध्यक्ष श्रेष्ठद्वारा नियामक क्षमता सुदृढीकरणमा जोड

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पूँजीबजारले छोटो समयमै उल्लेखनीय प्रगति गरे पनि नियामक निकायको संस्थागत, राजनीतिक र मानव संसाधन क्षमतामा अपेक्षित विकास नहुनु गम्भीर चुनौतीको रूपमा देखिएको बताएका छन्। आइतबार आयोजित बोर्डको ३३औं वार्षिकोत्सव समारोहमा उनले बजार वृद्धिको अनुपातमा नियामक क्षमतामा असन्तुलन देखिएको भन्दै तत्काल सुधारको आवश्यकता औंल्याए।

    अध्यक्ष श्रेष्ठले पूँजीबजारमा दिगो स्थायित्व र लगानीकर्ताको संरक्षण सुनिश्चित गर्न नियमन तथा सुपरिवेक्षण अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले भने, ूनेपाल धितोपत्र बोर्डलाई प्रभावकारी नियमन र सुपरिवेक्षणका क्षेत्रमा चुनौती थपिएको छ, र यसका लागि सुदृढ संस्थागत पूर्वाधार आवश्यक छ।ू

    रिलायबल नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन, नयाँ मूल्य ४६२.६७ रुपैयाँ

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको छ। आइतबारको अन्तिम कारोबार मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर बोनस समायोजन गरिएको हो।

    बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य ४६२.६७ रुपैयाँमा झरेको छ। यही समायोजित मूल्यलाई आधार मानेर सोमबारबाट यसको कारोबार सुरु हुनेछ। मूल्य समायोजन बोनस सेयर जारी गर्ने कम्पनीहरूको नियमित प्रक्रिया हो, जसले सेयरधनीको स्वामित्व प्रतिशत यथावत राख्दै बजार मूल्यलाई सन्तुलनमा ल्याउने गर्छ।

    शेयर बजार  : नेप्से परिसूचकमा ८.५६ अंकले घटेर २६३२.४०  बिन्दुमा, ९ अर्ब १३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ८.५६ अंकले घटेर २६३२.४०  बिन्दुमा आएको छ । आज ९ अर्ब १३  करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।२ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छ।   २ वटाको नकारात्मक सर्किटमा कारोबार भएको छ । हाइड्रोपावर समूहमा सकारात्मक माहोल देखिएको छ ।

     

    यस दिन ३ सय १३ कम्पनीको १ करोड ९९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब ७३ करोड रुपैयासहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।

    नेपाल धितोपत्र बोर्डको ३३ औँ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्रीका सुझावहरू

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको  ३३औँ वार्षिकोत्सव आइतबार मनाइएको छ ।कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले  बोर्डको वार्षिकोत्सवको अवसरमा शुभ कामना व्यक्त गर्दा केही सुझाव दिएका हुन् ।

     
    निफ्राको ग्रीन बण्ड आज अन्तिम दिन, ६% वार्षिक ब्याजदरमा ५ अर्ब बराबरको ऋणपत्र बिक्रीमा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० द्वारा जारी गरिएको ग्रीन बण्डमा आवेदन दिन आज (जेठ २५ गते) अन्तिम दिन हो। कम्पनीले जेठ १८ गतेदेखि सुरु गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६५ २०८८/८९’ नामक यो ऋणपत्र ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा निष्कासन गरिएको हो।कुल ५ अर्ब रुपैयाँ बराबरका ५० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत ९३० लाख कित्ता० व्यक्तिगत तवरबाट र ४० प्रतिशत (२० लाख कित्ता) सर्वसाधारणलाई लक्षित गरी बिक्री गरिँदैछ। सर्वसाधारणतर्फको २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १९ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत लगानीकर्ताका लागि उपलब्ध छन्।

    सान्भि इनर्जीको आईपीओ जेठ २६ गते बाँडफाँट, ११ गुणा बढी आवेदन परेको खुलासा

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ जेठ २६ गते, सोमवार बाँडफाँट हुने भएको छ। कम्पनीका अनुसार आईपीओ बाँडफाँट कार्यक्रम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय, काठमाडौंमा दिउँसो ३ बजे हुने छ।

     

    कम्पनीले जेठ ९ देखि १३ गतेसम्म कुल २४,१५,३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यसमा करिब ११ गुणा बढी आवेदन परेको छ। अन्तिम दिनसम्म २१ लाख ८ हजारभन्दा बढी आवेदकले करिब २ करोड ५८ लाख कित्ता शेयरका लागि आवेदन दिएका थिए।

    कुमारी बैंकद्वारा ३१ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको ३१,९२८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनाअनुसार, यस्ता सेयर खरिदका लागि हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

    सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले आज (जेठ २५ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा दिन सकिनेछ।

    नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ४.४८ लाख बिगो दाबी

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

     

     

    मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

    काठमाडौ । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

     

     

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन । आज दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक आजै ३ः१५ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर बैठक सरेको जनाएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सचिवालयले पुनः अर्को सूचना प्रकाशित गरी साँझ ५ः३० मा बस्ने उल्लेख गरेको थियो ।

    लेखा समिति र अर्थ समितिबीच आईपीओ निष्कासनसम्बन्धी विवाद तन्किँदै

    काठमाडौँ । दुई संसदीय समितिबीच नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति दिने कि नदिने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । संसद्का सार्वजनिक लेखा र अर्थ समितिबीच यस्तो विवाद देखिएको हो  ।

     

    लेखा समितिले  पुस २०८० मा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई साधारण सेयर निस्कासन अनुमति नदिने निर्णय गरी सोही अनुरुप गर्न गराउन धितोपत्र बोर्डलाइ निर्देशन दिएको थियो ।बोर्डले साधारण सेयर निष्कासन गर्ने कम्पनीले सम्पत्तिको पुनर्मूल्याङ्कन गरी नेटवर्थ गणना गर्न पाउने व्यवस्था गरेपछि वित्तीय अवस्था निकै कमजोर भएका कम्पनीले पनि आईपीओ  ल्याउने सक्ने अवस्था बनेको थियो । उक्त व्यवस्थामा बोर्डले नीतिगत भ्रष्टाचार गरेको भन्दै लेखासमितिमा उजुरी परेको थियो । लेखासमितिले सो उजुरीलाई अध्ययन गर्दै वित्तीय अवस्था कमजोर भएको संस्थामा लगानी गरेर सर्वसाधारण फस्न सक्ने भन्दै ९० रुपैयाँ भन्दा थोरै प्रति सेयर नेटवर्थ भएका कम्पनीलाई आईपीओ  निष्कासन अनुमति नदिन निर्देशन दिएको थियो । उक्त व्यवस्थाले सर्वसाधारणबाट पूँजी संकलन गरेर निर्माण प्रक्रिया पूरा गर्ने जलविद्युत कम्पनीहरुलाई असर गरेपछि उनीहरुले अर्थ समितिलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।

    "2nd मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल" को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

    काठमाण्डौ । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा "2nd मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल" को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भएको छ।

     

    कार्यक्रमको प्रमुख अतिथिको रूपमा अनसरी घर्ती मगरले उपस्थिति जनाएकी थिइन् भने प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा किरण केशी रहेका थिए।

    प्रतियोगितामा मिस्टर जुनियर उपाधि प्रभाव राईले जित्दा, मिस जुनियर को उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ।

    सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैन : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ ।

     

     

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहोर्याउनुभयो । 

     

    “हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ ”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी अहिलेसँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौँ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।”

    आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताउनुभएको छ ।  

     

     

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

     

    मादकपदार्थ सेवनको जाँच हुनथालेपछि सवारी चालकले लागुपदार्थ प्रयोग गर्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “बर्सेनि ठूलो धनजनसहित मुलुकलाई  अपूरणीय क्षति पु¥याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।” 

     

     

    बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते

     

    दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । 

     

     

    दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    सुनचाँदी व्यवसायीहरूद्वारा विलासिता कर खारेजीको माग गर्दै सरकार विरुद्ध प्रदर्शन

    काठमाडौँ ।  सुनचाँदी व्यवसायीहरूले कर खारेजीको माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।  सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।  सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ ।

     

    यस्तै हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर लाग्ने भएको छ । सोही कर खारेजीको माग गर्दै आइतबार सुनचाँदी व्यवसायीले काठमाडौंमा  शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरात जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगढमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बाेकेर सयौं व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।

     

    राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै – बोलकबोल प्रणालीमार्फत तरलता व्यवस्थापन

    काठमाडौँ ।  राष्ट्र बैंकले आइतवार २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको पृष्ठभूमिमा चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै राष्ट्र बैंकले नियमित रूपमा तरलता संकलन गर्दै आएको छ। सोही निरन्तरतामा, यसपटक पनि निक्षेप संकलनको लागि अनलाइन बोलकबोल प्रणाली प्रयोग गरिँदैछ।

    हाल मुलुकको कुल निक्षेप ६९ खर्ब ४५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। बढ्दो निक्षेप तथा प्रणालीमा मौज्दात अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले यस्तो पहल गरेको हो। आज हुने बोलकबोलमा ब्याजदर प्रतिस्पर्धात्मक प्रस्तावमार्फत निर्धारण हुनेछ भने संकलित निक्षेपको मूलधन तथा ब्याज २०७९ साउन ४ गते भुक्तानी गरिने जनाइएको छ।

    तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

    काठमाडौं  ।नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

     

     

    विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मिएका पूर्वपरराष्ट्रमन्त्री डा. महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा सक्रिय भूमिकामा थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका उनी २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुन् ।

    अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध बिस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

    सिड्नी ।अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताउनुभएको छ । 

     

    अस्ट्रेलिया अमेरिकाको नजिकको सहयोगी देश हो तर ट्रम्पको विश्वव्यापी करको हिस्साको रूपमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशत सम्म कर लगाइएको छ।

    “म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भन्नुभयो ।

    भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

    काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाई तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो ।

     

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले १० वर्षदेखि बसोबास र सरकारी जग्गा नपाएका अन्य नागरिकलाई भूमिहीन, सुकुमबासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ती जमिनामा आवाद गरेर बसोबास गरिरहेको हुनुुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराउनुुभयो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएमा काम गर्न सहज हुने आयोगका पदाधिकारीले बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचानलाई योजनाबद्ध र तीव्रगतिमा अघि बढाउन निर्देशन दिनुुभयो । सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको हो ।

    भरतपुरमा २,३७३ मूल्य अभिवृद्धि करदाता निलम्बन, कारोबार रोक्का

    भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका २,३७३ मूल्य अभिवृद्धि करदातालाई निलम्बन गरिएको छ। आन्तरिक राजस्व विभागले लगातार छ महिनासम्म कर विवरण नबुझाउने करदातामाथि कडा कारबाही गर्दै कारोबारसमेत रोक्का गरेको हो।

     

    कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार, यस कार्यालयमा २,४०० जना करदाताले विवरण नबुझाएकोमा, विभागले २०७८ वैशाख ११ गते सूचना प्रकाशित गरेपछि मात्र २७ जनाले विवरण बुझाएका थिए। बाँकी करदाताहरूलाई निलम्बन गर्दै, संस्थाको कारोबार स्थगन गरिएको र उपभोक्तालाई खरिद–बिक्री नगर्न आग्रह गरिएको छ।

    एकैदिन ३ हजारले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको छ।शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ थियो। मूल्य घट्ने क्रममा आज चाँदी पनि प्रभावित भएको छ।

     

    चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर २,१४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ २,१५० रुपैयाँ थियो।

    नेपाल राष्ट्र बैंकद्वारा ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति

    काठमाडौं ।नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते यी दुई लघुवित्त संस्थालाई पत्रमार्फत मर्जरको स्वीकृति दिएको जानकारी दिएको हो।

    यसअघि, दुवै संस्थाले फागुन १८ गते मर्जरमा जाने सहमति गर्दै प्रारम्भिक सम्झौता गरेका थिए। अब राष्ट्र बैंकको सैद्धान्तिक सहमतिपछि मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।

    सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई उच्च प्राथमिकता दिँदै हालैको बजेटमार्फत यस क्षेत्रको विकास र विस्तारमा स्पष्ट प्रतिबद्धता जनाएको बताएका छन्।

     

    नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पुँजी बजारलाई स्थायित्व र पारदर्शितातर्फ अग्रसर गराउन सरकार सकारात्मक रूपमा क्रियाशील रहेको उल्लेख गरे। उनले धितोपत्र बोर्डलाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी स्वतन्त्र ढंगले काम गर्नुपर्नेमा जोड दिए।

    “बजेटले देखाएको छ कि सरकार पुँजी बजारलाई कति प्राथमिकतामा राखेको छ। बोर्डले इन्साइडर ट्रेडिङविरुद्ध कडाइका साथ उभिनुपर्छ र लगानीकर्तालाई सचेतना अभिवृद्धि गर्ने काममा सक्रिय हुनुपर्छ,” पौडेलले भने।

    सिद्धबाबा सुरुङमार्ग निर्माण द्रुतगतिमा , समयमै पूरा हुने विश्वास

    तानसेन (पाल्पा)। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लिएको छ। परियोजनाको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४८ प्रतिशत छ।

     

    सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो। अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन। उनका अनुसार मुख्य टनेलको कुल १ हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छ भने लाइनिङको १ हजार १२६ मध्ये ६६० मिटर काम सकिएको छ।

    कोशीमा मनसुनको प्रभाव तीव्र, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं ।देशका पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ १५ गते रातिबाट पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशमा विस्तार भइसकेको छ।

     

    हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जानकारी दिएको छ।

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

     

    युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij