Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

ऋण उठाउनु भन्दा सावाँ ब्याज भुक्तानी बढी हँदा सार्वजनिक ऋण साढे २५ अर्ब बढीले घट्यो

ऋण उठाउनु भन्दा सावाँ ब्याज भुक्तानी बढी हँदा सार्वजनिक ऋण साढे २५ अर्ब बढीले घट्यो

  • काठमाडौं । सरकारले  तिर्नुपर्ने सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको छ ।गत महिनाको तुलनामा यो महिना सरकारको सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैया घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार देखिएको हो ।

    चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो महिना (कात्तिक) सम्म २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ थियो ।

    सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा ६२ अर्ब ४५ करोड बराबर खर्च गरेको छ । ऋण प्राप्तिभन्दा भुक्तानी बढी हुँदा यस महिना सार्वजनिक ऋण आकार घटेको कार्यालयको तथ्यांकबाट  देखिएको छ ।

    मंसिर मसान्तसम्म १ खर्ब ७० अर्ब ५९ करोड बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी भएको छ । कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा–ब्याज तिर्न १ खर्ब ८ अर्ब १४ करोड खर्च भएको थियो । मंसिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको तथ्यांकबाट देखिन्छ ।

    मंसिर मसान्तसम्मको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपातमा ४३.६९ प्रतिशत भएको देखिन्छ । कात्तिक मसान्तसम्म जीडीपी अनुपातमा सार्वजनिक ऋण ४४.१४ प्रतिशतमा  थियो । मंसिरसम्म आन्तरिक ऋण जीडीपीको २१.३४ प्रतिशत र बाह्य ऋण जीडीपी अनुपातमा २२.३५ प्रतिशत छ ।
    उक्त कार्यालय अनुसार आन्तरिक ऋण  १२ खर्ब १७ अर्ब ६६ करोड, वाह्य ऋण १२ खर्ब ७४ अर्ब ७४ करोड, कुल  २४ खर्ब ९२ अर्ब ४१ करोड रहेको छ ।
    चालु आव पहिलो  पाँच महिनामा ५८ अर्ब ३१ करोड सार्वजनिक ऋण थपिएको छ ।
    २०८०÷८१ को अन्त्यसम्म सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो । यसबीच सरकारले १ खर्ब ९२ अर्ब २९ करोड नयाँ ऋण लिएको छ ।

    उक्त अवधिमा १ खर्ब ४४ अर्ब बराबर साँवा भुक्तानी भएको छ । विनिमय दरमा आएको परिवर्तनबाट १० अर्ब ५७ करोड रुपैयाँ दायित्व थपिन पुगेको छ । यसरी  चालु आवको पहिलो पाँच महिनामा ५८ अर्ब ३१ करोड सार्वजनिक ऋण थप भएको हो ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाएको छ । आन्तरिक ऋण भुक्तानीमा भने १ खर्ब २७ अर्ब २४ करोड खर्च भएको छ । 

    यस अवधिमा वाह्य ऋण २८ अर्ब २९ करोड रुपैयाँ प्राप्त भएको छ । वाह्य ऋण भुक्तानीमा भने १७ अर्ब ३१ करोड खर्च भएको देखिएको छ । विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थपिएको छ ।

    चालु आव सरकारले ५ खर्ब ४७ अर्ब बराबर ऋण लिने लक्ष्य राखेकोमा आन्तरिक ऋण लक्ष्य ३ खर्ब ३० अर्ब र वाह्य ऋण लक्ष्य २ खर्ब १७ अर्ब छ । मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड अर्थात् लक्ष्यको ३५.१५ प्रतिशत उठाइसकिएको छ ।

    उठाइसकिएको ऋण  मध्ये आन्तरिक ऋण लक्ष्यको ४९.७० प्रतिशत र वाह्य ऋण १३.०४ प्रतिशत छ । लक्ष्य अनुसार सार्वजनिक ऋण उठाउन बाँकी सात महिनामा सरकारले ३ खर्ब ५४ अर्ब उठाउनेछ ।


    सार्वजनिक ऋण भुक्तानीमा भइरहेको ठूलो खर्चले सरकारलाई भने स्रोत व्यवस्थापनमा ठूलो चाप परेको देखिन्छ । सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा पाँच महिना अवधिमै १ खर्ब ७० अर्ब ५९ करोड खर्च गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij