
काठमाडौंँ । चालु आर्थिक वर्ष ५ महिनामा १ खर्ब १ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएबाट सरकारले ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा पेट्रोलियम पदार्थमा १० अर्ब घटी खर्च भएको हो गत वर्ष सोही अवधिमा १ खर्ब ११ अर्ब ७७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। यो वर्ष पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात बढेको छ भने डिजलको आयात घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार यो वर्ष पेट्रोलको आयात ८.६ प्रतिशत बढेको छ। पाँच महिनामा २६ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३ लाख ६ हजार २२९ किलोलिटर पेट्रोल आयात भएको छ।हवाई इन्धनको आयात १२.७६ प्रतिशतले वृद्धि भएको छ। हवाई इन्धन चालु आवको ५ महिनामा ८९ हजार ५४५ किलोलिटर आयात गरिएको छ। यसमा ८ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ। गत आवको पहिलो ५ महिनामा ७८ हजार ११२ किलोलिटर हवाई इन्धन आयात भएको थियो।
एलपी ग्यासको आयात १.६ प्रतिशतले बढेको छ। साउनदेखि मंसिरसम्म २४ अर्ब २२ करोड रुपैयाँ बराबरको २१ करोड ७७ लाख ७४ हजार ४३३ केजी एलपी ग्यास आयात भएको छ।गत वर्ष सोही अवधिमा २१ करोड ४२ लाख ९१ हजार केजी एलपी ग्यास आयात भएको थियो।
विभागका अनुसार डिजलको आयात भने ३.६ प्रतिशतले घटेको छ। चालु आवको पहिलो ५ महिनामा ४२ अर्ब १७ करोड रुपैयाँ बराबरको ४ लाख ७२ हजार ८०७ किलोलिटर डिजल आयात भएको छ।गत वर्ष सोही अवधिमा ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजल आयात भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij