
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ८ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
महुली लघुवित्तको एफपीओमा मागभन्दा ४१.३५ गुणा बढी पर्यो आवेदन
काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज साँझ ५ः०६ बजेसम्ममा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ४१.३५ गुणा बढी हो ।
सानिमा माई हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
सानिमा माई हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ४८८ दशमलव १८ कायम भएको छ ।
विजय लघुवित्तको साधारण सभा पुस २९ गते , एफपीओ निष्कासन गर्ने
काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासनको प्रस्ताव राखेर १६औं वार्षिक साधारण सभा बोलाएको हो । सभा यही पुस २९ गते काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा दिउँसो साढे १२ बजे बस्नेछ ।
सभामा एफपीओ निष्कासनसँगै संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्ताव पेश गरिनेछ ।
शेयर बजार : नेप्से परिसूचकमा २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा,४ अर्ब ४३ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा आएको छ ।आज ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३२८ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
विद्युत प्रसारण र वितरण प्रणाली सुधारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँ लगानी जुट्यो
काठमाडौं । देशभित्रको विद्युत आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ ९५३ करोड ७० लाख अमेरिकी डलर०को लगानी जुटेको छ ।
विद्युत प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०ले ३१ करोड १० लाख डलर ९४२ अर्ब २४ करोड रुपैयाँ० सहुलितपूर्ण ऋण र ३ करोड डलर ९४ अर्ब ७ करोड रुपैयाँ० अनुदान उपलब्ध गराउने छ । युरोपेली युनियनले २ करोड २६ लाख डलर ९३ अर्ब ६ करोड रुपैयाँ० र नर्वे सरकारले ३ करोड १० लाख डलर ९४ अर्ब २१ करोड रुपैयाँ० अनुदान दिनेछन् ।
नेपाल स्टक एक्सचेञ्जले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।। हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । जस अनुसार नेप्सेले ७५ करोड रुपैयाँ लाभांश वितरण गर्नेछ । उक्त प्रस्तावित लाभांश पारित गर्न नेप्सेले पुस २९ गते, सोमबार, आफ्नो कार्यालयमा ४३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा विहान ११ बजे सुरु हुने जनाइएको छ ।
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौँ ।नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको ९८ औँ सभाको आजको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्या समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको हो ।
निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् ।
सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा अध्यक्ष पक्राउ
काठमाडौँ । सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
सुपरखुदी हाइड्रोपावरको साधारण सभा पुस २९ गते , आइपीओ जारी गर्ने
काठमाडौं ।सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएका छन् । सुपरखुदी हाइड्रोपावरले पनि पुस २९ गते सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यी कम्पनीहरुले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछन् ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नेछन् ।
हिमालयन बैंकले प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने
काठमाडौं । हिमालयन बैंकले पुस २९ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ९थप सार्वजनिक निष्कासन० प्रिमियममा निष्कासन गर्ने प्रस्ताव हुनेछ । एफपीओ निष्कासनपछि जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि परिमार्जन हुँदै
काठमाडौंँ । सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि परिमार्जन गर्ने लागिएको छ । नेपाल राष्ट्र बैंकले कार्यविधि परिमार्जनका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सुन बिक्री वितरणको समस्या समाधानका लागि कार्यविधि परिमार्जनको प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेका छन् ।
कार्यकारी निर्देशक नेपालका अनुसारसुन बिक्री सम्बन्धी कार्यविधि परिमार्जनका लागि गठन गरिएको कार्यदलको सुझावका आधारमा कार्यविधिमा सुधार गरिनेछ ।
ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गर्नुभएको छ ।
पाँच महिनामा पेट्रोलियम पदार्थमा १ खर्ब बढी खर्च
काठमाडौंँ । चालु आर्थिक वर्ष ५ महिनामा १ खर्ब १ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएबाट सरकारले ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा पेट्रोलियम पदार्थमा १० अर्ब घटी खर्च भएको हो गत वर्ष सोही अवधिमा १ खर्ब ११ अर्ब ७७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। यो वर्ष पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात बढेको छ भने डिजलको आयात घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार यो वर्ष पेट्रोलको आयात ८.६ प्रतिशत बढेको छ। पाँच महिनामा २६ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३ लाख ६ हजार २२९ किलोलिटर पेट्रोल आयात भएको छ।हवाई इन्धनको आयात १२.७६ प्रतिशतले वृद्धि भएको छ। हवाई इन्धन चालु आवको ५ महिनामा ८९ हजार ५४५ किलोलिटर आयात गरिएको छ। यसमा ८ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ। गत आवको पहिलो ५ महिनामा ७८ हजार ११२ किलोलिटर हवाई इन्धन आयात भएको थियो।
१७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने ,प्रशस्त तरलताका कारण बैंकहरुबीच उच्च प्रतिस्पर्धा
काठमाडौं।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको तथा २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागेको हो ।
बोलकबोलमा आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ ।सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।
सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम
काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ ।
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो । तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ ।
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु जानकारी दिनुभयो ।
आज सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij