काठमाडौँ । प्राकृतिक ग्यास रहेको भनी उत्खनन् भइरहेको दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा सकारात्मक संकेत प्राप्त भएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्यास रहेको संकेत देखिएको अधिकारीहरुले बताएका हुछन् ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गत वर्ष वैशाख २८ गतेदेखि जमिन उत्खनन अथवा ड्रिलिङ थालेको थियो । त्यतिबेला सबैखाले पेट्रोलियम पदार्थको अवस्था पत्ता लगाउने उद्देश्य थियो ।
तर हालसम्मको अवस्थाले त्यहाँ प्राकृतिक ग्याँसको सकारात्मक संकेत देखिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद एवम् पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुईंटेलले जानकारी सार्वजनिक गरेका हुन् ।
चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य भएकोमा आइतबारसम्म ३ हजार ९ सय ४८ मिटर खनिसकिएको छ र अहिलेसम्मका सबै संकेतहरु हेर्दाखेरि यहाँ प्राकृतिक ग्यास रहेको सकारात्मक अवस्था देखिएको छ । उनका अनुसार जमिन उत्खनन गर्दै जाँदा उपकरणले ग्यास पता लगाएको छ ।ग्यास रहेको पुष्टि भइसकेपछि व्यापारिक दृष्टिले उपयुक्त छ कि छैन भनेर थप अध्ययन गर्नुपर्ने हुन्छ ।
त्यसका लागि जमिन खन्दा निस्किएका चट्टानका नमूनाहरु संकलन गरिएको छ । त्यसलाई परीक्षण गर्न बाँकी छ । भूगर्भविद लुईंटेलले भने अनुसार चट्टानका नमूनाहरुलाई परीक्षण गर्ने चरणमा काम भइरहेको छ । त्यसको परीक्षणपछि व्यापारिक दृष्टिकोणबाट उपयुक्त छ कि छैन भन्ने पनि थाहा हुन्छ ।
दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा जमिन मुनिबाट निस्किरहने ग्यासमा आगो बल्ने गरेको छ । ‘अखण्ड दीप’ बलिरहने शीरस्थान, नाभिस्थान लगायतका क्षेत्र धार्मिक तथा पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् ।अहिले उत्खनन सुरु भएको स्थान पनि आन्तरिक पर्यटकको चासोको केन्द्र बनेको छ । सो क्षेत्रमा धेरै व्यक्तिहरु घुम्न र हेर्न आउने गरेको दैलेखको भैरवी गाउँपालिकाकी प्रमुख रिता कुमारी शाहीको भनाइ छ । उनका अनुसार जिल्ला र छिमेकी जिल्लाबाट मात्र नभएर इण्डियाबाट समेत उत्खनन् भएको हेर्न, घुम्न मानिसहरूको आवागमन बढेको छ ।
२ हजार २ सय मिटर खन्दा नै ग्याँस रहेको संकेत देखिएको थियो । जति तल जाँदा पनि ग्याँस रहेको संकेत देखिएपछि उत्खनन् जारी राखिएको छ । अब करिब ५० मिटर मात्र खन्न बाँकी छ । परियोजनाका सूचना अधिकारी लुईंटेलले ड्रिलिङ सकिएपछि अध्ययन विश्लेषणको विस्तृत रिपोर्ट सार्वजनिक गर्ने बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij