
काठमाडौँ । वासलातमा(ब्यालन्स सिट) खराब वित्तीय अवस्था लुकाइएको कुरो लगानीकर्ताहरूले थाहा पाउँदा विकास बैंक र फाइनान्स कम्पनीहरुको शेयरमा गिरावट देखिएको छ ।पहिलो त्रैमासिकमा सार्वजनिक गरेको वासलातमा वास्तविक वित्तीय अवस्था लुकाएको कुरो बाहिरिएपछि त्यसको असर शेयर मूल्यमा पर्न गएको हो ।
नेपाल राष्ट्र बैकले कर्णाली डेभलपमेन्ट बैंकलाई कारबाही परेपछि खराब वित्तीय अवस्था लुकाइएको बाहिरि थालेको छ । यसको असर विकास बैंक र फाइनान्स कम्पनीको शेयरमा परेको सम्बद्ध गतिविधिमा संलग्नहरूले जनाएका छन् ।
कम्पनीहरुको खराब कर्जा लुकाइएको विषयमा विकास बैंक र फाइनान्सका सीईओहरु बैठकमा व्यस्त हुने गरेको खबर लगानीकर्तासम्म पुगेको हो ।यसको त्रासबाट लगानीकर्ता तसित हुन पुगेका हुन् । त्यही भएर प्रायःजसो विकास बैंक र फाइनान्सको शेयर मूल्यमा गिरावट आएको हो ।
मंगलबार १५ वटै फाइनान्स कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। यस्तै १३ वटा विकास बैंकका शेयर लगानीकर्ताले गुमाएका छन्।जानकी र पोखरा फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्न पुगेको थियो ।गुहेश्वरी फाइनान्सको शेयर मूल्य ९.३४ प्रतिशतले घटेको छ। १३ वटा विकास बैंकको मूल्य घट्दा नारायणीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको देखिएको छ।
कर्णाली डेभलपमेन्टमाथि कारबाहीयता विकास बैंक र फाइनान्सको शेयर मूल्य गत आइतबार र बिहिबार पनि घटेको देखिएको थियो।राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिनुअघि कर्णाली डेभलपमेन्ट बैंकले पहिलो त्रैमासिकमा ७.२७ प्रतिशत मात्रै निष्कृय कर्जा देखाएको थियो।
कर्णालीले पहिलो त्रैमासिकमा सार्वजनिक गरेको वित्तीय विवरण र राष्ट्र बैंकले नियमनमा भेट्टाएको वित्तीय अवस्थाबीच ठुलो अन्तर रहेको छ।राष्ट्र बैंकले कर्णालीको खराब कर्जा ४०.८५ प्रतिशत पुगेको पाएको जनाउँदै कर्णालीलाई गत साता संकटग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो।
यसैग क्रममा नारायणी डेभलपमेन्टको निष्कृय कर्जा ३४.८१ प्रतिशत छ। सप्तकोशी डेभलपमेन्ट बैंकको निष्कृय कर्जा १४.७७ प्रतिशत छ। एक्सल डेभलपमेन्ट, सिन्धु विकास र ग्रिन डेभपलमेन्टको वित्तीय अवस्था पनि कमजोर छ। फाइनान्सतर्फ जानकीको खराब कर्जा ३४.६४ प्रतिशत छ। समृद्धि, गुहेश्वरी, पोखरा र गोर्खाज फाइनान्सको पनि वित्तीय अवस्था कमजोर रहेको देखिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij