Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

एक हजार बढी परियोजना स्टार्टअप उद्यम कर्जाका लागि छनौट

एक हजार बढी परियोजना स्टार्टअप उद्यम कर्जाका लागि छनौट

  • काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजनाहरू छनोट गरिएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो ।

    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको छ । छनोटमा परेको परियोजनालाई आगामी आइतबारदेखि व्यावसायिक योजना माग गरिएको छ ।

    छनोट भएका परियोजनालाई तीन प्रतिशत ब्याजमा बिनाधितो अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रदान गरिने छ । गत वर्षदेखि स्टार्टअप उद्यम कर्जा वितरण कार्यक्रम कार्यान्वयनमा आएको थियो । चालु आवमा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रम मार्फत ३ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा प्रवाह गर्ने योजना अनुसार स्टार्टअप उद्यमीबाट प्रस्ताव आह्वान गरिएको थियो ।

    कार्यविधि अनुसार तोकिएका १९ क्षेत्रमा परियोजनाको आवेदन प्राप्त भएमध्ये कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी  उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोेट्र्स तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधनलगायतका क्षेत्रमा सबैभन्दा बढी परियोजनासम्बन्धी आवेदन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । गत आवमा २५ करोड रुपियाँ विनियोजन गरिएकोमा १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो ।

    स्टार्टअप कर्जा न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म सुहलियत ब्याजदरको कर्जा दिइने छ । कर्जा अवधि अधिकतम पाँच वर्षको हुनेछ । कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि सावाँ वा ब्याजको रकम फिर्ता गर्न थाल्नुपर्ने छ ।

    उद्यम तथा परियोजना नै धितो मानेर ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा दिने व्यवस्था छ । स्टार्टअप उद्यम कर्जा लिन उद्योग–व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको हुनुपर्ने छ । स्थापनापछिका कुनै पनि आर्थिक वर्षमा कारोबार वर्षमा १५ करोड नाघेको हुनु हुने छैन । यस्तो उद्योग नगाभी वा नटुक्र्याइकनै नयाँ व्यवसायका रूपमा रहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

    प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका रूपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएका उद्यम तथा व्यवसायले स्टार्टअप कर्जा पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij