काठमाडौँ । भारतमा सेनिटरी प्याड र डाइपर निर्यातको बाटो खुलेको छ ।भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस) प्रमाणपत्र चाहिने भनी रोकिएकोमा त्यसलाई खुला गरेको हो ।भारतले सेनिटरी प्याड र डाइपरलाई १ अप्रिल २०२५ (२०८१ चैत १९) सम्मका लागि खुला गरेको छ।
भारत सरकार, वस्त्र मन्त्रालयले यही जनवरी २ (पुस १८) को राजपत्रमा सूचना प्रकाशित गरी १ अप्रिलसम्म यस्तो प्रमाणपत्र आवश्यक नपर्ने गरी दुवै वस्तुको आयात खुला गरेको हो।ल १ सम्म बीआईएस नचाहिने भन्दै अवधि विस्तार गरिएको उल्लेख छ।
उक्त सूचना नेपालको सीमासँग जोडिएका भारतीय भन्सार कार्यालयमा सोमबार दिउँसो आइपुगेको थियो। जसअनुसार मंगलबारदेखि दुवै उत्पादनको निर्यात सुरु हुने जनाइएको छ।भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) प्रमाणपत्र लिनुपर्ने भन्दै विभिन्न वस्तुको आयातमा नियन्त्रण गर्दै आएको छ। जसमा सेनिटरी प्याड र डाइपर पनि परेका छन्।
यसअघि भारतले गत २३ अक्टोबर (कात्तिक ७) मा नोबेम्बर र डिसेम्बर महिनाका लागि प्याड र डाइपरमा बीआइएस नचाहिने गरी २ महिनाको अवधि थप गरेको थियो।यस पटकको सूचनामा भारत सरकारले प्याड र डाइपरका शर्तसहितको आयातलाई मात्र अनुमति दिएको छ। जसअनुसार भारतका लघु, सूक्ष्म र मध्यम उद्योगमा दर्ता भएका फर्म तथा प्रतिष्ठानले मात्र प्याड र डाइपर आयात गर्न पाउने छन्। ठुला उद्योगमा दर्ता भएका त्यहाँका फर्म तथा प्रतिष्ठानलाई दुवै उत्पादनको आयात गर्न रोक लगाइएको जनाइएको छ।
भारतमा व्यापारिक कम्पनी, फर्म तथा प्रतिष्ठान पनि उद्योगअन्तर्गत नै दर्ता हुने प्रावधान छ।सम्बद्ध उद्योगी व्यवसायीहरूका अनुसार भारतले आगामी चैत १९ सम्मका लागि प्याड र डाइपरको आयात खुला गरेको छ । साथै उनीहरूका अनुसार भारतको बीआईएसको केन्द्रीय कार्यालयका निरीक्षकले नेपालका निर्यातकर्ता उद्योगमा बीआईएस प्रयोजनका लागि धमाधम निरीक्षण गरिरहेका छन् ।
निरीक्षण पछि नेपालका उद्योगले बीआईएसको प्रमाणपत्र प्राप्त गर्ने विश्वास गरिएको छ ।नेपाली निर्यातकर्ताहरूका अनुसार भारतमा लघु, सूक्ष्म र मध्यम उद्योगमा दर्ता भएका आयातकर्तालाई नै प्याड र डाइपर निर्यात गरिरहेका छन् ।भारतले प्रकाशित गरेको सूचनाका आधारमा अब नेपालबाट निर्यात सुरु हुने कसैले रोक्न नपाउने नेपाली उद्यमीहरूको भनाइ छ ।
नेपालमा सेनिटरी प्याड र डाइपरका उद्योग ४० वटा भए पनि निर्यात गर्ने थोरै रहेका छन्। जसमध्ये सबैभन्दा ठूलो निर्यातकर्ता व्रजेश्वरी, दोस्रोमा हेल्थ एन्ड हाइजिन र तेस्रोमा जस्मिन हाइजिन रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन ।चालु आर्थिक वर्षको मंसिर सम्ममा १५ करोडको डाइपर र ९ करोडको प्याड गरि २४ करोडको निर्यात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा ३० करोडको डाइपर र ४२ करोडको प्याड गरी ७२ करोडको निर्यात भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij