Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह बनाउन जग्ग र रुख हटाउने सम्झौता

दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह बनाउन जग्ग र रुख हटाउने सम्झौता

  • काठमाडौँ । दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुखबिरुवा हटाउने सम्बन्धी सम्झौता भएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच यो सम्झौता भएको हो । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माण हुने भएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रको ४२.३६ हेक्टर जग्गा उक्त संरचनामा प्रयोग हुनेछ । यसका लागि नेपाल सरकारले २ असोज २०८१ मा मन्त्रिपरिषद् बैठकबाट स्वीकृति दिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्नेबारे विभाग र समितिबीच सम्झौता भएको समितिले जनाएको छ । भएको रुखको मूल्यांकन गरी विभागमा पठाउने छ । विभागबाट प्रमाणित भएपछि निकुञ्ज कार्यालयले रुख कटान आदेश उपलब्ध गराउने छ । आदेश पाएपछि  समितिले आफ्नै खर्चमा रुख कटान तथा मुछानको काम गर्ने समेत समितिले जनाएको छ ।
    आयोजनाले काट्ने रुखका लागि उक्त क्षेत्र बराबरको जमिन उपलब्ध गराउन नसकेका कारण सट्टा भर्नाबापत विभागलाई १४ करोड ८२ लाख रुपैयाँ दिएको हो ।सम्झौता भएपछि  अब रुख कटान आदेश कुरिरहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले  जनाएका छन् । उनका अनुसार आदेश आएपछि  रुख कटान प्रक्रिया सुरु हुन्छ ।

    यो बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । आयोजनाको कुल लागत ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यस संरचनाको निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेन्डर तयारी गरिसकेको समितिले जनाएको छ ।रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित हुने जानकारी भारतीय पक्षले गराएको समेत समितिले जनाएको छ ।

    यहाँ अत्याधुनिक सुविधासम्पन्न व्यापार पूर्वाधार सहित बन्दरगाह निर्माण हुने छ ।  आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी खाद्य प्रयोगशाखा (क्वारेन्टिन), प्रशासनिक भवन लगायत संरचना बन्ने भएका छन् ।सरकारले पछिल्लो समय भारत र चीनसँग जोडिएका सीमा नाकामा सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माणलाई गति दिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij