Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको सबै भन्दा बढी कर्जा लगानी शेयर कर्जामा

चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको सबै भन्दा बढी कर्जा लगानी शेयर कर्जामा

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी शेयर कर्जामा लगानी विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले साउनदेखि मंसिरसम्ममा मार्जिन प्रकृतिको कर्जा १९.८ प्रतिशतले बढेकोे जनाएको हो ।शेयर कर्जा लगानीमा विस्तार भए अनुसार शेयर बजारमा त्यसको प्रभाव त्यही अनुपातमा हुन नसकेको देखिएको छ । थोरै शेयर पुँजी भएका कम्पनीहरुको शेयर मूल्य अधिक भएपनि ठूलो पुँजी आधार भएको बैंक तथा कम्पनीहरुको शेयर मूल्य अति कम रहेको विज्ञहरू बताउँछन् ।

    images

    शेयरकर्जाको तुलनामा अन्य क्षेत्रमा जाने कर्जा विस्तार न्यून भएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले बढेको छ । तर सोही अवधिमा  कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले कमी आएको छ । सरकार र राष्ट्र बैंकले कृषि कर्जामा जोड दिए पनि यस तर्फको कर्जा ऋणात्मक भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१ खब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । 

    बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।

    कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.१ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६७.७ प्रतिशत रहेको देखिन्छ ।बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४७.३ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.१ प्रतिशतले बढेको छ । तर अधिविकर्ष कर्जा ११.१ प्रतिशतले घटेको छ ।

    २०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकहरुको ५.७५ प्रतिशत र वित्त कम्पनीहरुको ६.७० प्रतिशत रहेको छ ।यस्तै २०८१ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरुको १०.२६ प्रतिशत र वित्त कम्पनीहरुको ११.४८ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत, विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरुको १४.३० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ ।

    राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १ खर्ब ७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij