काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । यसले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ४९ करोड कमाएको छ । यस्तै, कुमारीले १ अर्ब ९९ करोड, प्राइम कमर्सियलले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबिले १ अर्ब ९० करोड र प्रभुले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सबैभन्दा कम एनआइसी एसिया बैंकले जम्मा ६३ करोड ३४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । सिटिजन्स बैंकले ६९ करोड ४९ लाख, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख तथा राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख नाफा कमाएका छन् । चालु अवाको मंसिरको तथ्यांकमा कृषि विकास बैंकको मुनाफा समावेश गरिएको छैन् । गत आवको मंसिरसम्म कृषि विकास बैंकले भने १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।
अधिकांश बैंकहरुको नाफा बढेको देखिन्छ । नाफामा नबिल बैंककै अग्रता देखिन्छ । पाँच महिनामा बैंकले ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने १७.७८ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । गत आवको मंसिरको तुलनामा यस बैंकको नाफा ९०.४८ प्रतिशतले बढेको छ । यसपछि लक्ष्मी सनराइजको ८२.५९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा पनि ५६.९४ प्रतिशत, यस्तै, नेपाल बैंकको मुनाफा २४.९५ प्रतिशतले नाफा बढेको छ ।
सबैभन्दा बढी एनआइसी एसियाको नाफा ६५.७६ प्रतिशतले घटेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३८.५१, हिमालयनको २५.९२, सिटिजनको ६.५४ प्रतिशत तथा नेपाल इन्भेष्टेमन्ट मेगा बैंकको नाफा ४.५२ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij