काठमाडौँ । पछिल्लो समय भेप तस्करीले नेपाली बजार तातिएको छ । ठुलो परिमाणमा भेप राजस्व अनुसन्धान विभागले समातेको खबरबाट नेपाली बजार र सम्बद्ध सरकारी संयन्त्र तातिन पुगेको हो ।भारतीय बजारमा तस्करी भई जाने विभिन्न वस्तुहरूमा अहिले भेपको नामले चिनिने विद्युतीय चुरोटको तस्करी हुन थालेको देखिएको हो ।
नेपाली बजारमा माग बढेका वस्तुहरूको तस्करी हुने गरेको यसरी सरोकारवाला निकायले समातेका परिमाणका आधारमा जानकारी सार्वजनिक हुने गर्छ । गत वर्ष चिनियाँ लाइटरको तस्करी भएको थियो भने चिनिया लसुनको तस्करी पनि भएको पाइएको थियो । तर यी वस्तुहरू अवैध आयात सूचीमा रहेका छैनन् । तर भेप अवैध आयातको सूचीमा रहेकाले यसको विशेष चर्चा भइरहेको छ ।केही समय अघि राजस्व अनुसन्धान विभागले एक लाख बढी भेप समातेको थियो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र गएको बैशाखमा भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई भनेको थियो ।भन्सार विभागका कर्मचारीहरूका अनुसार हालैका महिनामा भेपको जाँच पास भइरहेको छैन् ।
तर भेप काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँबाट बरामद भएका खबरहरू सार्वजनिक भएका छन् ।राजस्व अनुसन्धान विभागका पदाधिकारीहरू पनि यस्ता विषयमा जानकारी दिन मानिरहेका छैन् । अनुसन्धान भइरहेको बाहेक उनीहरूको जवाफ बाहेक अन्य केही खुलाउन उनीहरू मानिरहेका छैनन् ।
भन्सार प्रज्ञापनपत्रबाट नआएको मालवस्तु चोरी पैठारी भित्र पर्छ । विभागका अधिकारीहरूका अनुसार मुस्ताङबाट १९ हजार वटा आएको थियो ।अघिल्लो हप्तामात्रै विभाग र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ललितपुरको महालक्ष्मीमा छापा हानेर ८६ हजार ४ सय भेप फेला पारेको थियो।भेपको मूल्य ५ डलरदेखि १५ डलर मूल्यसम्म रहेको र आफूहरू अहिले प्रारम्भिक चरणको अनुसन्धानमा मात्रै रहेको अधिकारीहरू बताउँछन् ।
भन्सार विभागकै तथ्यांक हेर्दा यो वर्ष मलेसियाबाट ११९ केजी भेप भित्रिएको देखिन्छ। अघिल्लो वर्ष चीनबाट १९९ केजी र मलेसियाबाट ८२ केजी भेप नेपाल भित्रिएको विभागको तथ्यांकमा छ ।भन्सार विभागका अनुसार मूल्य अभिवृद्धि कर, अन्त शुल्क र महसुल दरसहित गरेर भेपमा १२१.४८ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीका अनुसार भेप आयातमा प्रतिबन्ध लगाउन गरिएको सिफारिसबारे मन्त्रालयलाई आधिकारिकरूपमा जानकारी छैन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij