Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

पुसमा घरजग्गा कारोबार थप गतिशील

पुसमा घरजग्गा कारोबार थप गतिशील

  • काठमाडौँ । सुस्त बनेको घरजग्गा कारोबार पुस महिनाले थप गति पाएको छ । पुसमा अहिलेसम्मकै सर्वाधिक घरजग्गा कारोबार भएपछि घरजग्गा व्यवसायी उत्साहित भएका छन् ।उनीहरूका अनुसार आर्थिक शिथिलताले संकटमा परेको घरजग्गा व्यवसाय तंग्रिन खोजेको छ। मंसिरमा एक्कासी बढेको घरजग्गा कारोबार पुसमा थप उकासिएर यो वर्षको सबैभन्दा बढी कारोबार पुसमा भएबाट उनीहरूले यस्तो बताएका हुन् । 

    दुई महिनाको कारोबारबाट व्यवसायीहरु केही आशावादी भएको बताउँदै  नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मंसिरपछि पुसमा घरजग्गा क्षेत्रमा खरिदबिक्री बढेबाट व्यवसायीहरूमा विश्वास पलाएको बताए ।
    घरजग्गाको क्षेत्रमा शेयर बजारका लगानीकर्ता आउन थालेको उनको बुझाइ छ ।  शेयर बजारमा लगानीकर्ताहरूको विश्वास खस्किएयता यस क्षेत्रमा लगानीकर्ताहरू आउन थालेको बुझिएको हो ।कतिपय सन्दर्भमा बैंक किस्ता तिर्न पनि सम्पत्ति बेचिरहेको पाइएको छ ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका मालपोत कार्यालयहरुबाट पुसमा ४७ हजार ४७९ लिखत पारित भएको  छ । गत आर्थिक वर्ष २०८०÷८१ को पुसमा ४५ हजार २७७ लिखत पारित भएको थियो।पुसमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत कार्यालयमा भएको छ । एक महिनामा इनरुवाले १८६७ लिखत पारित गरेको छ। मोरङको बेलबारीले १६३२, भद्रपुरले १६२३, जनकपुरले १५३४, राजविराजले १२५८, मलंगवाले ११११, सिरहाले १०५७ र तौलिहवाले १०५१ लिखत पारित गरेको जनाइएको छ । 

    काठमाडौं उपत्यकाको हकमा पुसमा भक्तपुर मालपोतबाट सर्वाधिक घरजग्गा किनबेच भएको देखिएको छ । भक्तपुरको लिखत पारित संख्या ९४३ छ। लगनखेलले ८१४, कलंकीले ५९४, साँखुले ४४९, चाबहिलले ४३०, मनमैजुले २५८, डिल्लीबजारले २०० र टोखाले १७९ लिखत पारित गरेका छन्।गत मंसिरमा पनि घरजग्गा कारोबार संख्याका आधारमा इनरुवा मालपोत पहिलो नम्बरमा थियो। यो मालपोतबाट मंसिरमा १५५३ लिखत पारित भएको थियो। त्यस्तै बेलबारी मालपोतबाट १४४२, भद्रपुरबाट १३९८, धनगढीबाट १२२८ र जनकपुरधाम मालपोतबाट ११३७ लिखत पास भएको थियो।

    घरजग्गा कारोबार गतिशील भएसँगै मालपोत कार्यालयहरुले उठाउने राजस्व पनि वृद्धि भएको छ। पुसमा मालपोत कार्यालयहरुले ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व उठाएका छन्। यो रकम मंसिरको भन्दा एक करोड बढी हो। पोहोर पुसमा घरजग्गा किनबेचबाट ३ अर्ब २० करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो।घरजग्गाबाट पुसमा सबैभन्दा धेरै राजस्व उठाउने मालपोतमा लगनखेल सबैभन्दा बगाडि छ। लगनखेलले ४४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

    त्यसपछि भक्तपुरले ३१ करोड ७० लाख, चाबहिलले २५ करोड २७ लाख, डिल्लीबजारले २४ करोड ३० लाख र कलंकीले २४ करोड २२ लाख रुपैयाँ उठाएका छन्।यस्तै, रुपन्देहीले २१ करोड, कास्कीले १८ करोड २१ लाख, विराटनगरले १६ करोड ६३ लाख, बुटवलले १३ करोड ३८ लाख, चितवनले १२ करोड ४८ लाख, इनरुवाले ११ करोड ९७ लाख, साँखुले ११ करोड ३६ लाख र मकवानपुरले १० करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ।मंसिरमा पनि सबैभन्दा धेरै राजस्व उठाउने मालपोतमा लगनखेल नै थियो। त्यतिखेर लगनखेलले ४१ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij