![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौँ । हालै नेपाल र भारतका वाणिज्य अधिकारीहरू बीच भएको सहमतिले व्यापार व्यवसाय विस्तारमा सहज हुने तर नेपालले अझ विश्वास दिलाउन बाँकी रहेको विज्ञहरूले बताएका छन् ।नेपाल र बंगलादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाडौँका उच्च वाणिज्य अधिकारीहरूबीच सहमति बनेको हो ।
उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बंगलादेशबीच हुने व्यापारिक आदानप्रदान निकै सहज बन्ने व्यापारीहरूको भनाइ पनि रहेको छ ।दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा बंगलादेश पनि पर्छ।सामुद्रिक मार्गसम्म आफ्नो सीधा पहुँच नभएको नेपालका लागि कतिपय अवस्थामा बंगलादेशी बन्दरगाह भारतीय बन्दरगाहको स्वाभाविक विकल्प बन्न सक्ने देखिन्छ ।गत साता काठमाडौँमा व्यापार तथा पारवहनसम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति आईजीसीको दुई दिने बैठक भएको थियो।
नेपालको तर्फबाट उक्त बैठकको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका वाणिज्य सचिव सुनिल बर्थवालले गरेका थिए।उक्त बैठकमा विभिन्न सहमति बनेको दुवै देशका वाणिज्य मन्त्रालयहरूले विज्ञप्ति जारी गरी जनाएका छन् ।त्यसमा नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतको फुलबारीहुँदै बंगलादेशको बंगलाबन्धसम्मको पारवहन व्यवस्थालाई सहजीकरण गर्ने समेटिएको विषय अहिले मुख्यरूपमा चर्चामा रहेको छ।
भारतीय वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिए अनुसार नेपाली पक्षको अनुरोधमा भारतीय पक्षले फूलबारी (भारत) को रुट हुँदै काँकडभिट्टा (नेपाल)–बंगलाबन्ध (बंगलादेश) सम्मको ’कार्गो–इन–ट्रान्जिट’का हकमा सडक परिवहन तथा राजमार्ग मन्त्रालयको प्रचलित नियमअनुसार ‘टू एक्सल’ सवारीसाधनका लागि अधिकतम ‘एक्सल’ तौल १८.५ टन र ‘थ्री एक्सल’ सवारीसाधनका लागि अधिकतम २८ टनको ‘एक्सल’ तौल नेपाली सवारीसाधनका हकमा पनि लागु गर्न सकिनेमा सहमति भएको छ ।
अहिले काँकडभिट्टाबाट बंगलादेशतर्फ जाने नेपाली ट्रकहरूको अधिकतम तौल १९ टनभन्दा माथि हुन नहुने प्रावधानसहितको व्यवस्था थियो। सहमतिअनुसार अबको केही समयपछि नै नयाँ व्यवस्था लागु हुने अपेक्षा नेपाली अधिकारीहरूको छ । यसबाट व्यवसायीहरूलाई उत्साहित बनाएको छ ।उक्त बैठकमा नेपालको नेतृत्व गरेका वाणिज्य सचिव कार्कीले नेपाल र बंगलादेशबीच व्यापारलाई थप सजिलो बनाउन यो समझदारीले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार यसले अब नेपाल र बंगलादेशबीचको व्यापारलाई निकै सहज बनाउँछ। उक्त रुटबाट पारवहन सहजीकरणका लागि थप अनुरोध पनि गरिएको छ । त्यसमा पनि सकारात्मक जबाफ पाइएको छ। पारवहन सेवा दिने व्यवसायीहरूको संस्था नेपाल फ्रेड फर्वाडर्स एसोसिएसन नेफा र नेपाल समुद्रपार निकासी पैठारी संघ लगायतका संघसंस्थाहरूले यसको स्वागत गरेका छन् । उनीहरूका अनुसार यसका लागि लामो समयदेखि माग गरिएको थियो ।
यो सहमति कार्यान्वयपछि अब भारतीय बाटोमा पनि नेपाली ट्रकहरू र भारतीय ट्रकहरूका लागि एउटै नियम लागु हुने छ । यसअघि भुटानले यस्तो सुविधा पाउँदै आएको थियो । यसले अब नेपालबाट निर्यात गर्दा वा बंगलादेशबाट आयात गर्दा ढुवानी व्यवस्थापनमा लाग्ने खर्च घट्छ। आखिर त्यसले सामानको मूल्य घटाउने हो । यसबाट उपभोक्तालाई राहत मिल्ने विश्वास गरिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्थल यातायात तथा पारवहन समितिका पदाधिकारीहरू पनि यसबाट बंगलादेशसँगको व्यापार सहजीकरणमा मद्दत गर्ने विश्वास व्यक्त गर्छन् ।भारतीय गाडीले बोकेसरह नेपाली गाडीले पनि सामान बोक्न पाउने अवस्था बन्नु निकै सकारात्मक विषय भएको छ ।
तर नेपाल पक्षले अहिले पनि भारतीय पक्षको विश्वास जित्न बाँकी रहेको पर्यवेक्षकहरूको बुझाइ रहेको छ । अझै अन्य कतिपय विषयमा भारतीय सहजीकरणका लागि पहल जारी राख्नुपर्ने उनीहरूले आवश्यकता औँल्याएका छन् । पूर्वी नेपालबाट बंगलादेशसम्मको रुटमा अन्य केही प्राविधिक बाधाहरू हटाउन विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको छ ।
हाल नेपालबाट बंगलादेश जाने ट्रकहरूको दैनिक निश्चित संख्या र दिनको समयमा जान पाउने भएको छ । भारतको फुलबारी भएर बंगलादेशको बंगलाबन्ध जान पाउने समय दिनमा भएकाले नेपाली व्यवसायीहरूका लागि समस्याको विषय त स्वाभाविकरूपमा हुने भयो । यसका लागि काम गर्नुपर्ने आवश्यकता छ । अर्को कुरो निश्चित गाडीको विषय छ । यसले पनि व्यापारमा समस्या बाँकी रहेको छ । तर पनि भारतीय ट्रकसरी जान पाउने सहमति आफैमा निसन्देह स्वागतयोग्य रहेको जानकारहरू बताउँछन् ।
काँकडभिट्टाबाट हिँडेका ती ट्रकका ताँतीलाई भारतीय प्रहरीको सुरक्षामा फूलबारी हुँदै बंगलाबन्ध पु¥याइने र त्यहाँ खाली गरिएको नेपाली ट्रकमा सामान लोड गर्न नपाउने विषयमा पनि भारतीय पक्षसँग कुरो गर्नुपर्ने देखिन्छ ।भारतीय पक्षका अनुसार नेपाली ट्रकले बंगलादेश बन्दरगाहमा लोड गरेको सामान भारतमै बेच्न सक्ने आशंकामा यस्तो प्रावधान राखिएको छ ।त्यसैले बंगलादेशबाट नेपाली सीमामा ल्याइने बंगलादेशी ट्रकबाट सामान लोड गरी नेपाल भित्र छिराउन पाउने प्रावधान राखिएको छ ।यो विश्वासको विषय हो । नेपाली र भारतीय पक्षबीचको विश्वास बलियो भए यो बाधा हटाउन सकिने देखिन्छ ।
नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा भारतीय सुरक्षामा एक दिनमा २० देखि २५ वटासम्म मात्र नेपाली ट्रकको ताँतीलाई फूलबारी पु¥याउने व्यवस्था गरिएको छ।त्यसरी नेपाली ट्रकहरू पठाउँदा नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडको काँकडभिट्टा शाखाका कर्मचारीहरू पनि कागजपत्र लिएर जानुपर्ने हुन्छ।
यो व्यवस्थाको समाधान अहिलेको डिजिटल प्रविधिबाट पनि गर्न सकिन्छ । डिजिटल ट्रयाकिङ डिभाइसको मद्दत लिएर बंगलादेशी बन्दरगाहमा नेपाली ट्रकमा लोड गरिएको सामान नेपाली भूमिसम्म पुगे नपुगेको निगरानी गर्न सकिने पनि विज्ञहरूको भनाइ छ । तर पनि यसका लागि भारतीय पक्षको विश्वास आवश्यक रहेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालबाट बंगलादेशमा करिब साढे ५५ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका थिए भने बंगलादेशबाट ४ अर्ब २२ करोड रुपैयाँ बराबरका सामग्री आयात भएका थिए।हालै बंगलादेशमा बिजुली निर्यात गर्ने सम्झौता भएको छ । यसबाट नेपाल भारतबीचको व्यापार सम्बन्ध विस्तारबाट नेपाललाई अपेक्षित सफलता प्राप्त हुने अपेक्षा गरिएको छ । भारतीय पक्षले नेपालबाट भारतमा भइरहेको चोरी तस्करीका कारण तत्कालका लागि केही प्रावधान कायम राखेको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij