काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आवको पहिल्लो छ महिनामा गत वर्षको तुलनामा राजस्व चुहावट धरौटी दाखिलामा करिब दोब्बरले वृद्धि गरेको छ ।चालु आवको पहिलो ६ महिनामा राजस्व चुहावट धरौटी दाखिला २ करोड ९८ लाख भएको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले सार्वजनिक गरेको पहिलो छ महिनाको प्रगति विवरण अनुसार गत आव २०८०÷८१को पहिलो ६ महिनामा १ करोड ५२ लाख राजस्व चुहावट धरौटी दाखिला भएको थियो । यस आधारमा चालु आवमा यो करिब दोब्बरले बढेको देखिएको हो । राजस्व चुहावट मुद्दाको दर्ता संख्या आठ गुनाले बढेको हो । राजस्व चुहावट मुद्दा दर्ताको संख्या गत वर्षको पछिल्लो ६ महिनामा १ वटा मुद्दा दर्ता गरिएकोमा यो आवको ६ महिनामा ८ मुद्दा दर्ता गरिएको हो ।
भिसिटिएस जरिवाना रकम सवा बाह्र लाखले बढेको छ । गत आवमा ३५ लाख रहेकोमा यो आवको ६ महिनामा ४७ लाख ४३ हजार रहेको छ । यसैगरी गरी राजस्व चुहावटसम्बन्धी मुद्दामा मागदाबी रकम ६८ गुना बढी रहेको देखिएको छ । गत आवमा ५४ लाख राजस्व चुहावट मुद्दाको मागदाबी रकम रहेकोमा चालु आवको ६ महिनामा ६८ करोड ७४ लाख रहेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
यस्तै विदेशी विनिमय मुद्दा मागदाबी रकम भने घटेको छ । गत आवमा १ करोड ६९ लाख मागदाबी रकम रहेकोमा चालु आवको पहिलो छ महिनामा १ करोड ५६ लाख मात्र रहेको जनाइएको छ ।कार्यालयले जनाए अनुसार पछिल्लो ६ महिनामा गत आवको तुलनामा चालु आवमा धरौटी दाखिला रकम ९६ प्रतिशत, भिसिटिएस जरिवाना ३५.५ प्रतिशत , राजस्व चुहावट मुद्दा दर्ता प्रतिशत ७सय प्रतिशत र राजस्व चुहावट मुद्दा मागदाबी रकम १२६१.८ प्रतिशतले बढी रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij