
काठमाडौँ । चालु आवको दोस्रो त्रैमासिकमा राम्रो नाफा कमाउँदै आएका वाणिज्य बैंकहरू पनि हतोत्साहित हुन पुगेका छन् । दोस्रो त्रैमासिकमा २० वटा वाणिज्य बैंकको खुद नाफा औसत ४.६१ प्रतिशतले घटेको हो । वाणिज्य बैंकहरूको नाफा विवरणबाट यस्तो देखिन्छ ।
वाणिज्य बैंकले दोस्रो त्रैमासिक पुस मसान्तसम्म कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।यो अवधिमा ९ वटा वाणिज्य बैंकको नाफा घटेको पनि छ । विगतमा अर्ब बढीको नाफा गर्ने वाणिज्य बैंकहरूको अवस्था पनि खस्किएको छ । चालु आवको दोस्रो त्रैमासिकमा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको एनआईसी एशिया बैंकको नाफा घटेको हो । चालुआवको दोस्रो त्रैमासिकमा कुल १५ करोड १७ लाख रुपैयाँ मात्रै खुद नाफा छ । यो अवधिमा यस बैंकको नाफा ९२.०३ प्रतिशतले घटेको देखिन्छ ।
यसैगरी गत आवको दोस्रो त्रैमासमा झण्डै एक अर्ब अर्थात् ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको कुमारी बैंकको नाफामा पनि गिरावट आएको छ । चालुआवको पुस मसान्तसम्म २७ करोड ५७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ ।
सोही क्रममा गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले पनि आफ्नो हैसियत जोगाउन नसकेको हो । चालु आवको सोही अवधिमा ७६ करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यो बैंकको पनि नाफामा ६२.१३ प्रतिशतले गिरावट भएको देखिएको छ ।यसैगरी गत आवको सोही अवधिमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको सिद्धार्थ बैंकले यस अवधिमा कुल ५३ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ३५.३५ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कुल १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको कृषि विकास बैंकको चालु आवको पुस मसान्तसम्म कुल ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस आवको दोस्रो त्रैमासिकमा यस बैंकको नाफा २९.३४ प्रतिशत घटेको छ ।यस्तै यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९६प्रतिशत, नेपाल बैंकको २१.८६ प्रतिशत, सिटिजन्सको १५.४५ प्रतिशत र प्राइम कमर्सियलको १४.३३ प्रतिशत नाफा घटेको देखिन्छ ।
९ वाणिज्य बैंकको नाफामा गिरावट आउँदा ११ वाणिज्य बैंकले नाफा बढाउने अवसर पाएको देखिएको छ । यो अवधिमा सबैभन्दा बढी नाफा प्रभु बैंकको बढेको छ । प्रभु बैंकले गत आवको सोही अवधिमा ७२ करोड रुपैयाँ नाफा गरेको भएपनि यस आवको दोस्रो त्रैमासिकमा भने १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । यस बैंकले राम्रो सुधार गरेको छ । बैंकले यो अवधिमा ८५.४८ प्रतिशतको नाफा वृद्धि गरेको हो । यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, एनएमबि र एभरेष्ट बैंकले पनि राम्रो नाफा बढाएका छन् । यी बैंकले क्रमशः ५७.१८ प्रतिशत, ४९.५१ प्रतिशत, ४५.६प्रतिशत र २१.१ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।
हालसम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रणी स्थानमा नबिल बैंक नै छ । नबिलले चालुआवको दोस्रो त्रैमासिकमा कुल ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब २० करोड नाफा गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij