
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक पुस मसन्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा वृद्धि भएको छ । विकास बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद नाफा १४.७८ प्रतिशतले बढेको हो ।
हाल नेपालमा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरु रहेकामा ६ वटाको नाफा बढेको छ । २ वटा विकास बैंकको नाफा घटेको छ । नाफा वृद्धि गर्ने सबैभन्दा बढी ज्योति विकस बैंक रहेको छ । ज्योति विकासले १४७.५५ प्रतिशतले नाफा बढाएको छ । गत आवको दोस्रो त्रैमासिकमा ज्योतिले १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा यो नाफा २५ करोड १ लाख रुपैयाँ पुगेको छ ।सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासिक १० करोड रुपैयाँ नाफा कमाएको सांग्रिलाले चालु आवको सोही अवधिमा १९ करोड ६५ लाख रुपैयाँ कमाएको छ ।
कामना सेवा विकास बैंकले गत आवको दोस्रो त्रैमासिकमा २५ करोड ८९ लाख नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा वृद्धि गरेर ३२ करोड २४ लाख पु¥याएको छ । जुन २४.५५ प्रतिशत वृद्धि हो । १९.७९ प्रतिशतले वृद्धि गरेर मुक्तिनाथ विकास बैंकले खुद नाफा ५० करोड ३१ लाख पु¥याएको छ । गत आवको सोही अवधिमा विकास बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गरिमा विकास बैंकको नाफा ७.१६ बढेको छ । महालक्ष्मी विकास बैंकको खुद नाफा ३.४० प्रतिशतले बढेको छ । साइन रेसुङगा डेभलपमेन्ट बैंकको नाफा १०.८७ घटेको छ । तर लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेको छ ।गरिमाले गत आवको दोस्रो त्रैमासिकमा ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा गरिमाको खुद नाफा ५४ करोड ९२ लाख रहेको छ । यसैगरी, महालक्ष्मी विकास बैंकले २७ करोड ८० लाख रुपैयाँबाट खुद नाफ वृद्धि गरेर २८ करोड ७४ करोड रुपैयाँ पु¥याएको छ ।
साइन रेसुङगाको नाफा ३७ करोड १२ लाखबाट घटेर ३३ करोड ८ लाखमा झरदा लुम्बिनीको नाफा २१ करोड २२ लाखबाट १४ करोड ७६ लाखमा खस्किएको छ ।समग्रमा ८ विकास बैंकले गत आवको दोस्रो त्रैमासिकमा २ अर्ब २५ करोड ४२ लाख नाफा आर्जन गरेका थिए । चालु आवको सोही अवधिमा यस्तो नाफा बढेर २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij