काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब बढीको चार पांग्रे विद्युतीय वाहन (ईभी) आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा ईभी जिप, भ्यान र कार आयात भएको भन्सार विभागले जनाएको हो ।
विभागले जनाए अनुसार उक्त ईभी आयात हुँदा सरकारलाई ८ अर्ब १६ करोड ३३ लाख राजस्व प्राप्ति भएको छ ।विभागका अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका ईभी गाडीहरू नेपाल आयात भएका छन् । ५१ देखि १०० किलोवाट क्षमता भएका ३ हजार १९१ वटा ईभी नेपाल पैठारी गरिएका छन् । जुन कुल ईभी आयातको ५८.२२ प्रतिशत हो ।
यसैगरी ५० किलोवाटभन्दा कम क्षमता भएका गाडीहरुको आयात हिस्सेदारी पनि उल्लेख्य रहेको छ । पछिल्लो ६ महिनामा ५० किलोवाटभन्दा कम क्षमता भएका ईभी १ हजार ७२५ वटा ईभी आयात भएको छ । जुन कुल आयातको ३१.४७ प्रतिशत हो ।यस्तै १०१ देखि २०० किलोवाटसम्मका ५५३ वटा, २०१ देखि ३०० किलोवाट क्षमता भएका ९ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएको २ वटा गाडी आयात भएको छ ।
नेपालमा ५ वटा देशबाट ईभी गाडी आयात भएको देखिन्छ । चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभीको आयात भएको छ । तीमध्ये सबैभन्दो धेरै चीनबाट आयात भएको छ ।पछिल्लो ६ महिनामा मात्रै चीनबाट १० अर्ब ६४ करोड ७८ लाख रुपैयाँ बढीको ४ हजार २०५ वटा ईभी आयात भएको छ । यो कूल ईभी आयातको ७६.७३ प्रतिशत हो ।
यसैगरी भारतबाट २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बढीको १ हजार २५० वटा ईभी आयात भएको छ । जुन कुल आयातको २२.८१ प्रतिशत हो ।अमेरिकाबाट १ करोड ६६ लाख रुपैयाँको ४ वटा, कोरियाबाट १ करोड २५ लाख रुपैयाँको २ वटा र जर्मनीबाट १३ करोड २८ लाख रुपैयाँको १९ वाटा ईभी आयात भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij