काठमाडौँ । समग्रमा नोक्सानी बेहोरेको फाइनान्स सेक्टरका आधाजति फाइनान्स कम्पनीहरूको अवस्था घाटामा रहेको देखिएको छ ।शेयर बजारमा मूल्य उतारचढावबाट सबैभन्दा धेरै लाभ वा हानि हुने फाइनान्स सेक्टरका ७ कम्पनीहरू पुस मसान्तसम्म नोक्सानमा पुगेका हुन् ।चालु आवको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार क्रियाशील कुल १५ फाइनान्स कम्पनीहरू मध्ये ७ कम्पनीको अवस्था नोक्सानीमा रहेको देखिन्छ ।बाँकी ८ कम्पनीले नाफा कमाएको देखिएको छ । गत वर्ष दोस्रो त्रैमासिकमा नोक्सानी बेहोरेका ५ कम्पनी थिए । नाफामा १० कम्पनी थिए ।
अहिले पुस मसान्तसम्मको ६ महिने अवधिमा १५ वटै फाइनान्स कम्पनीको खुद नाफा ७३ करोड २ लाख रुपैयाँ ऋणात्मक छ । अर्थात् समग्रमा फाइनान्स कम्पनीहरुको नोक्सानी ७३ करोड छ । गत आवको सोही अवधिमा समग्र फाइनान्स सेक्टरको नाफा ७ करोड ८६ लाख रुपैयाँ धनात्मक थियो ।६ महिनामा एउटै फाइनान्स कम्पनीको नोक्सानी ६३ करोड रुपैयाँसम्म पुगेको छ । पोखराले लोनलस प्रोभिजनबापत १ अर्ब रुपैयाँ छुट्टयानु परेपछि नोक्सानी उच्च देखिएको छ ।
नाफा वृद्धिका आधारमा नेपाल फाइनान्स सबैभन्दा अगाडि देखिएको छ । सो फाइनान्सको खुद नाफा समीक्षा अवधिमा २५ गुणाले बढेको छ । ६ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स छ, जसले ११ करोड ७० लाख नाफा कमाएको छ ।
नोक्सानी बढेपछि यो सेक्टरका कम्पनीहरुको औसत प्रतिशेयर आम्दानी समेत ऋणात्मक झरेको छ । जानाकीको ७१ तथा पोखराको प्रतिशेयर आम्दानी ११७ रुपैयाँ ऋणात्मक छ भने प्रोग्रेसिभको सबैभन्दा धेरै २० रुपैयाँ छ ।
१५ कम्पनीमध्ये २ वटाले मात्र निष्क्रिय कर्जा घटाएके छ । नेपाल र प्रोग्रेसिभको निष्क्रिय कर्जा सामान्य घटेको छ । बाँकी १३ कम्पनीको बढेको छ ।पुस मसान्तसम्म कुल कर्जामा फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा १२.४ प्रतिशत छ । गत पुस मसान्तसम्मको तुलनामा यो निष्क्रिय कर्जा करिब दोब्बर हो । गत पुस मसान्तसम्म औसत निष्क्रिय कर्जा ६.९९ प्रतिशत थियो ।जानाकी फाइनान्सको निष्क्रिय कर्जा सबैभन्दा धेरै ४०.८८ प्रतिशत पुगेको छ भने पोखराको ३३ तथा समृद्धिको १९ पुगेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij