काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको लिमिटेडले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामूहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले फागुन ५ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij