Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ ११ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ ११ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ ११ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    बिमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

    काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन्‌।

    सरकारले गठन गरेको सिफारिस समितिमा कमलप्रसाद रेग्मी, डा। देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको हो।

    यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ।

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा माग भन्दा ४.८८ गुणा बढी आवेदन

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वैदेशिक राजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा माग भन्दा ४ दशमलव ८८ गुणा बढी आवेदन परेको छ । सिडिएस  एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज  अर्थात (माघ ११ गते) बिहान १०ः०६ बजेसम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् ।

    तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति गरिसक्ने अब नेपाल अघि बढ्दैछ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभएको छ ।

    बुटवल–गोरूसिङ्गे सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरूडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताउनुभएको हो । उहाँले आगामी तीन वर्षभित्र बुटवल–गोरूसिङ्गे सडकखण्ड विस्तार गरिसक्ने घोषणा गर्नुभयो ।

    बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस

    मनहरी ।  बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औँ अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो । 

     

    मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेशप्रमुख देवकोटाले प्रदेशसभा बैठक आह्वान गर्नुहुनेछ । गत असोज १६ गते प्रदेशसभाको १४औँ अधिवेशन अन्त्य गरिएसँगै प्रदेशसभाको अर्को बैठक आह्वान हुन सकेको थिएन ।

    सिङ्गापुरले सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै

    सिङ्गापुर । सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । 

    सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।  

    सिंगापुरको आर्थिक वृद्धिको गति सुस्त भएको र यस वर्ष कोर मुद्रास्फीतिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा यो निर्णय आएको हो ।

    ओरियन्टल होटल्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ओरियन्टल होटल्स लिमिटेडको ५ लाख ६४ हजार ४५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकृत गरिएको हो ।

    सपोर्ट लघुवित्तको खुद नाफा ८० प्रतिशत बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३९ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।


    पुससम्म खुद ब्याज आम्दानी २ करोड ९३ लाखबाट बढेर ५ करोड १६ लाख पुगेको छ ।  प्रोभिजन घटेको छ । जसकारणले नाफामा वृद्धि देखिएको हो ।

    नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको हो । नेपालको सङ्घीय संसदले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई राष्ट्रबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, हामीले यी संयन्त्रमार्फत सम्वाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।” नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो ।

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यी शेयर खरीदका कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

    बेष्ट फाइनान्सको ५ लाख ३५ हजार कित्ता सेयर बिक्री खुला

    काठमाडौं । बेष्ट फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा बेष्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । फाइनान्सले यो सेयरको भाउ भने तोकेको छैन । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज ९माघ ११ गते० देखि ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    सुनको मूल्य एक हजारले बढ्यो , प्रतितोला रू एक लाख ६० हजार छ सय

    काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो ।

     

    बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रूपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

    आजदेखि कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

    कञ्चनपुर ।जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।

     गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो । अत्तरियास्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने उहाँले बताउनुभयो ।

    गर्मीका बेला काम गर्न असहज हुने भएकाले फागुनभित्र सक्नेगरी काम सुरू हुने उहाँले बताउनुभयो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij