काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन्।
माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ। माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिर नजिकैको जङ्गलमा रहेको पोखरीमा स्नान गरी, चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ। परदेश यात्रा सकिएपछि बर्तालु चाँगुबाट साँखु फर्कने नियम छ। आइतबार साँखु फर्कने बर्तालुले त्यहीँ भोजन गर्न पाउनेछन्। माघ शुक्ल नवमी (द्रोण नवमी) का दिन बर्तालुलाई खीर (तस्मी) खुवाइएको थियो।
बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए। पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ। माघ कृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ। त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ। अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ। माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ। माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो। भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ। साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो।
परदेश यात्रामा भोजन गर्ने स्थान
परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ। पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागमा रहेको भोखुसीमा, र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ।
परदेश यात्राका नियम
परदेश यात्रामा बर्तालुले चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि लानुपर्छ। नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो। परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन्। बर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि छ।
यात्रा सफलतापूर्वक सम्पन्न
परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो। बर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उहाँले बताउनुभयो। माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ। कठोर व्रत भए पनि बर्तालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij